जेन-जी आन्दोलनमा ध्वस्त पारिएको भाटभटेनी पुनः सञ्चालनमा - MirrorNepal.com

जेन-जी आन्दोलनमा ध्वस्त पारिएको भाटभटेनी पुनः सञ्चालनमा


काठमाडौँ । गत भदौ २३-२४ को जेन जी आन्दोलनको आगजनीमा ध्वस्त पारिएको कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोर आज शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । आगजनी भएको पाँच महिनामै स्टोर पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो ।

भदौ २४ मा काठमाडौँसहित देशका विभिन्न स्थानमा रहेका भाटभटेनीका ११ वटा स्टोरमा आगजनी गरी पूर्ण रूपमा ध्वस्त पारिएको थियो । ती स्टोरहरूमा तोडफोड र लुटपाटसमेत भएको थियो।

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले माघ २४ मा पाँच महिना पूरा भएकै दिन कोटेश्वर स्टोर सञ्चालनमा ल्याइएको जानकारी दिए। ‘भदौ २४ मा भाटभटेनीको मुख्य वेयरहाउससहित १२ वटा स्टोरमा आगजनी गरी खरानी बनाइयो,’ गुरुङले भने, ‘हामीले मुख्य वेयरहाउस आजभन्दा दुई महिना अघि नै सञ्चालनमा ल्यायौँ। आजदेखि कोटेश्वर स्टोर पूर्ण रुपमा सञ्चालनमा आएको छ।’

गुरुङका अनुसार उक्त आगजनीबाट कम्तीमा १७ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको छ। दशैँ-तिहारका लागि भण्डारण गरी राखिएका इन्स्योरेन्सबाहिरका अर्बौँ रुपैयाँ बराबरका सामग्री आगजनीबाट नष्ट भएका थिए।

‘के कारणले भयो थाहा छैन। भाटभटेनी हजारौँलाई रोजगारी दिने संस्था हो,’ उनले भने, ‘भाटभटेनीले दुर्गम जिल्लाका कैयौँलाई डाक्टर बनाएको छ। अस्पताल निर्माण गरिदिएको छ। मठ मन्दिर निर्माण गरिदिएको छ। तर पनि आक्रमण गरियो। यसले मनमा निकै चोट पुर्‍याएको छ।’

पाँच महिनामै पुरानै अवस्थामा पुनर्निर्माण गरिएको भाटभटेनी परिसरमा उभिएर शनिबार बिहान गुरुङले भने, ‘अब भदौ २४ लाई बिर्सौँ, अब अघि जाऔँ । अब अघि बढ्दा के भन्ने गरेको छु भने हे भगवान् अब उप्रान्त मेरो देश नेपालमा अब यस्तो कहिल्यै नहोस् !’

तपाईको बिचार