काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनमा नेकपा एमाले र केपी शर्मा ओलीले हार व्यहोर्नु परे देशले नै हार भोग्नु पर्ने बताएका छन् । एमाले अध्यक्ष उम्मेद्वार रहेको झापाको कमल गाउँपालिकामा आइतबार आयोजित मोटरसाइकल -यालीको उद्घाटनका क्रममा उनले आगामी निर्वाचनबाट राष्ट्रवादी शक्तिलाई बिजयी गराउन आग्रह गरे ।
अहिले राष्ट्रवादी शक्तिको नेतृत्व एमालेले गरिरहेको र एमालेको नेतृत्व केपी शर्मा ओलीले गरेकाले एमाले र ओलीको जित जरुरी रहेको भट्टराईले बताए । झापाले नेपाली कम्युनिष्ट आन्दोनलाई पुनर्जिवन दिएको उल्लेख गर्दै उपमहासचिव भट्टराईले झापाले राष्ट्रवादी शक्तिलाई निर्वाचित गराई देशव्यापी सन्देश दिनेमा आफु ढुक्क रहेको बताए ।
झापा क्षेत्र नं. ५ अन्तर्गतको कमल गाउँपालिका वडा नं. ७ को गेउरीयामा आयोजीत सभामा उनले यस क्षेत्रमा भएको विकासको मोडल देशकै लागि नमूना रहेको समेत उल्लेख गरे । उपमहासचिव भट्टराई पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई जिताउने चुनावी अभियानका क्रममा यस क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी भएका हुन् ।
फरक प्रसङ्ग बोल्दै भट्टराईले पार्टीभित्रको विवाद चुनावमा देखिन नहुने बताए । अहिलेको आवश्यकता एक ढिक्का भएर पार्टीलाई विजय गराउने भएको उनको भनाई छ ।
तपाईको बिचार