नयाँ दिल्लीमा नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम हुने - MirrorNepal.com

नयाँ दिल्लीमा नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम हुने


काठमाडौँ । होटल संघ नेपालले भोलिदेखि भारतको नयाँ दिल्लीमा नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल र भारतका प्रमुख पर्यटन व्यवसायीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले विशेषगरी गर्मीयाममा भारतीय पर्यटकहरूको आगमन वृद्धि गर्ने लक्ष्य राखेको छ ।

हानका अध्यक्ष विनायक शाहको नेतृत्वमा ६५ सदस्यीय नेपाली होटल प्रतिनिधिमण्डल कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । प्रतिनिधिमण्डलले अप्रिल २८ मा “नेपाल –वैवाहिक गन्तव्य” तथा अप्रिल २९ मा “नेपाल – तपाईंको नजिक, कल्पनाभन्दा उत्कृष्ट बिदा गन्तव्य” शीर्षकका कार्यक्रमहरूमा भाग लिनेछ।

यस प्रतिनिधिमण्डलमा हानका पदाधिकारी, बोर्ड सदस्य तथा देशभरका सदस्य होटलहरूको सहभागिता रहने छ उक्त नेपाल प्रवद्र्धनात्मक कार्यक्रम दिल्लीस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको सहयोग रहेको छ ।

तीन दिने कार्यक्रम अवधिभर नेपाली टोलीले भारतीय समकक्षीसँग बी–टु–बी भेटघाट गर्नुका साथै “नेपाल पर्यटन साँझ” मा पनि सहभागिता जनाउनेछन् । उक्त कार्यक्रममा होटल एसोसिएसन अफ इन्डिया, फेडेरेसन अफ होटल एन्ड रेस्टुरेन्ट एसोसिएसन्स अफ इन्डिया र ट्राभल एजेन्ट्स एसोसिएसन अफ इन्डिया (भारतीय ट्राभल एजेन्ट्स संघ)का वरिष्ठ प्रतिनिधिहरूको उपस्थिति रहनेछ ।

कार्यक्रममार्फत हानका सदस्य होटलहरूले भारतीय परिवार, समूह पर्यटक, तीर्थयात्री, नवविवाहित जोडी, हनिमुन यात्रु, कर्पोरेट ग्राहक तथा प्रकृति, संस्कृति र साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकहरूलाई लक्षित विशेष प्याकेजहरू सार्वजनिक गर्नेछन् ।

यसैबीच, मध्यपूर्व संकटका कारण उडान अवरुद्ध हुनु र हवाई भाडा वृद्धि भएको सन्दर्भमा छिमेकी नेपालमा भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्ने अपेक्षा होटल संघ नेपालले गरेको छ ।

तपाईको बिचार