काठमाडौं । चिनो हाइड्रोपावर लिमिटेडका लागि एभरेस्ट बैंकले १३६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा एभरेस्ट बैंकका कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका अध्यक्ष विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
चिनो हाइड्रोपावर लिमिटेडले चिनो खोलामा निर्माण गर्न लागेको ७.८३ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाका लागि यस बैंकले उक्त परिमाणको लगानी गर्न लागेको हो । मनाङ जिल्लाको नासोङ गाउँपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित परियोजना हो ।
यस परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारलाई ईपीसी मोडलमा ठेक्का लगाइसकिएको छ र यसबाट उत्पादित विद्युत् मनाङ जिल्लाको धारापानीस्थित सबस्टेसनबाट राष्ट्रिय ग्रिड लाइनमा जोडिने बताइएको छ ।
यस परियोजनाका लागि नेपाल विद्युत् प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेडबीच विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) २०८२ वैशाखमा सम्पन्न भइसकेको छ । यस परियोजनाबाट वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ ।
पञ्जाब नेसनल बैंक भारतसँगको संयुक्त साझेदारीमा स्थापित यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक संख्या रहेको र देशैभरि १३२ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू, १६७ एटीएम मेसिन रहेका छन् ।
विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । यस बैंकले भारतको नयाँ दिेल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ ।
तपाईको बिचार