अमेरिकी र रुसी राष्ट्रपतिबीच अलास्कामा भेटवार्ता हुने - MirrorNepal.com

अमेरिकी र रुसी राष्ट्रपतिबीच अलास्कामा भेटवार्ता हुने


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीच आगामी शुक्रबार भेटवार्ता हुने टुंगो लागेको छ । युक्रेन युद्धको विषयलाई लिएर दुवै देशबीच तनाव बढिरहेको बेला हुन लागेको यो वार्ता अमेरिका र रुसबीचको सम्वन्धको विषयलाई भन्दा पनि युक्रेनको भविश्यको लागि अर्थपूर्ण मानिएको छ ।

युक्रेनलाई सहभागी नबनाई दुई राष्ट्रपतिबीच युक्रेनको विषयमा कुनै सहमति भए त्यसले कस्तो परिणाम देला भन्ने विषयले अहिले विश्वभर चासोका साथ हेरिएको छ ।

त्योसँगै यसपटक ट्रम्प र पुटिनले प्रत्यक्ष भेटघाटको लागि तय गरेको स्थानको विषयले पनि विशेष चर्चा पाएको छ । भेटवार्ता हुने तय भएको अमेरिकाको अलास्का त्यही शहर हो, जुन कुनै बेला रुसको थियो र पछि उसले अमेरिकालाई बिक्री गरेको थियो ।

अमेरिकाको उत्तर–पश्चिमी क्षेत्रमा ५ लाख ८६ हजार ४१२ वर्गकिलोमिटरमा फैलिएको अलस्का सन् १८६७ मा रुसले अमेरिकालाई बिक्री गरेको थियो ।

विशाल समुद्रतट, हिमाल, घना जंगल क्षेत्रमा फैलिएको अलास्कामा दर्जनौं हिमनदीहरु बग्छन् । रुसको सुदूर पूर्वि क्षेत्रमा रहेको क्षेत्रमा प्राकृतिक सम्पत्तिहरु प्रशस्त भए पनि त्यतिबेला बस्ती थिएन्, अर्थात निजी घर जग्गा थिएनन् । जति थिए सबै रुसी सरकारका थिए ।

त्यहीक्रममा सन् १८६६ मा अमेरिकी गृहयुद्ध समाप्त भएपछि रूस र अमेरिकाबीच अलास्का खरिद बिक्री सम्वन्धि वार्ता शुरु भएको थियो । करिब एक वर्षको निरन्तरको वार्तापछि प्रति एकड २ सेन्टका दरले सिंगै आलास्का खरिद बिक्री गर्ने गरि १८६७ मार्च ३० मा दुई देशबीच सहमति भयो । त्यो अनुसार अमेरिकाले रूसलाई ७२ लाख डलर रुपैयाँ तिरेर अर्थात प्रति एकड २ सेण्टको दरले रकम तिर्ने निर्णय गरियो । ३० मार्चमा दुवै देशका अधिकारीहरूले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

अहिले अलास्कामा रुसी मुलका करिब ४ हजार मानिसहरुको प्रशस्त बसोवास रहेको बताइन्छ । तर, अमेरिकालाई बिक्री गरेदेखि अहिलेसम्म कुनै पनि रुसी उच्च अधिकारीले अलास्काको भ्रमण गरेका छैनन् । त्यस्तो भ्रमण गर्ने पुटिन नै पहिलो रुसी सरकारी अधिकारी हुने भएका छन् ।

उता युक्रेनले रुसलाई कुनै पनि छुट दिन सहमत नहुने किभका विदेशमन्त्री एन्ड्रे सिबिगाले बताएका छन्। उनको टिप्पणी शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको आगामी शिखर सम्मेलनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्वरत राष्ट्रहरू बीचको शान्ति सम्झौतामा “केही क्षेत्रहरूको आदानप्रदान” समावेश हुने सुझाव दिएको केही समयपछि आएको हो।

२०२२ मा भएको जनमत संग्रहपछि लुगान्स्क जनगणतन्त्र, डोनेट्स्क जनगणतन्त्र, जापोरोझ्ये र खेरसन क्षेत्रहरू रूसको हिस्सा बने। किभमा भएको सशस्त्र पश्चिमा-समर्थित मैदान विद्रोहपछि २०१४ मा क्रिमियाले देशमा सामेल हुन मतदान गरेको थियो। -एजेन्सी

 

तपाईको बिचार