एमालेको दोस्रो विधान महाधिवेशन गोदावरीमा जारी - MirrorNepal.com

एमालेको दोस्रो विधान महाधिवेशन गोदावरीमा जारी


एमाले विधान महाधिवेशन ललितपुर, २० भदौः ललितपुरमा शुक्रबारबाट सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनमा सहभागीहरु । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाविधेशन ललितपुर, गोदावरीस्थित सनराइज हलमा प्रस्तुत प्रतिवेदनमाथिको छलफल जारी छ। प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजनगरी छलफल सुरु गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार कोशी प्रदेशले समूहगत छलफल सकाएर प्रतिवेदन लेखन थालनी गरिसकेको छ।

प्रतिवेदनमाथि मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै समूहगत छलफल गरिरहेका छन्। उपत्यका विशेष प्रदेश, विभिन्न जनसंगठन, सम्पर्क समन्वय समिति र प्रवास, केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना, केन्द्रीय निकाय आयोजकले पनि छलफल गरिरहेको उनले जानकारी दिए।

प्रचार विभाग प्रमुख गौतमले आज छलफल सकेर भोलि प्रतिवेदन समूहगत नेताले प्रस्तुत गर्ने बताए। उनले समूहगत रूपमा आएका प्रतिवेदनमाथि आएका सुझावलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने र कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुंगो लगाई एकीकृत रूपमा पार्टी विधान तयार पारिने जानकारी दिए। उनले समसामयिक प्रस्ताव पारित गरेर भोलि महाधिवेशन सम्पन्न हुने बताए।

स्थायी कमिटी सदस्य थापालाई फरक मत राख्न दिइएन

एमालेको दोस्रो विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत राख्न दिने कार्यसूची थियो । बिहीबार बसेको एमाले सचिवालय बैठकमा थापाले दर्ता गराएको ३२ पृष्ठको फरक मत दोस्रो विधान महाधिवेशनमामा राख्न स्थायी कमिटी सदस्य थापा तयार भएर बसेका थिए ।

स्रोतका अनुसार सुरुमा अध्यक्ष केपी शर्मा ओलीले फरक मत राख्न दिने बताएका थिए । तर एकाएक निर्णय बदलियो । थापालाई अध्यक्ष ओलीले फरक मत प्रस्तुत गर्न वञ्चित गरे । विधान महाधिवेशनको दोस्रो दिन थापाले आफ्नो फरक मत बन्दसत्रमा प्रस्तुत गर्न खोज्दा अध्यक्ष ओलीले रोके। महाधिवेशनमा सहभागी एक नेताका अनुसार थापा झन्डै आधा घण्टा उभिएर माग गर्दा पनि ओलीले उनलाई फरक मत प्रस्तुत गर्नै दिएनन्।

बिहीबार बसेको एमाले सचिवालय बैठकमा थापाले दर्ता गराएको ३२ पृष्ठको फरक मतमा पार्टीका पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्न नहुने मत राखेका छन् । सचिवालय बैठकमा फरक मत दर्ता गराउँदा थापालाई विधान महाधिवेशनमा पेस गर्न दिने भनिएको थियो । तर अन्तिममा अध्यक्ष ओलीले रोकेका छन् ।

४९ जना बोल्दा ४० जना विद्याको पक्षमा

एमालेको दोस्रो विधान महाधिवेशनको समूहगत छलफल पूर्व राष्ट्रपति तथा पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता विवादमा केन्द्रीत भएको छ । विधान महाधिवेशन अन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा समूहगत छलफल गर्ने कार्यसूची भएपनि छलफल भण्डारीको सदस्यता केन्द्रित भएको छ ।

सूदुर पश्चिमको समूहगत छलफलमा ४९ जनाले बोलेका थिए । ४९ मध्ये ४० जनाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पक्षमा बोलेका छन् । उनीहरुले भण्डारीलाई पार्टीमा रोक्न नहुने तर्क राखेका थिए । भण्डारीलाई रोकिए पार्टीको मिसन २०८४ असफल हुने मत राखेका थिए ।

शनिबार १० वटा समूहमा विभाजन गरी प्रतिनिधिहरूलाई आ–आफ्ना क्षेत्रमा तोकिएको प्रतिवेदनमाथि छलफल गर्न लगाइएको छ। यसअघि शुक्रबार महाधिवेशनको प्रारम्भिक सत्रमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए।

निर्वाचन आयोग संयोजक डा. विजय सुब्बा, लेखा आयोग संयोजक डा. पुष्प कँडेल, अनुशासन आयोग संयोजक केशव वडाल र सल्लाहकार परिषद्का संयोजक अमृत बोहोराले आ–आफ्ना प्रतिवेदन महाधिवेशनमा पेस गरेका छन् ।

अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुतिपछि प्रतिनिधिहरूलाई स्पष्ट निर्देशन दिँदै फरक मत वा असहमति भए त्यसलाई आ-आफ्ना समूहमा विस्तृत बहसमार्फत प्रस्तुत गर्न आह्वान गरेका थिए ।

भट्टराईको संयोजकत्वमा राजनीतिक प्रस्ताव लेखन समिति गठन

एमालेको दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव लेखनका लागि पार्टीका सचिव योगेश भट्टराईको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।

आज सुरु भएको महाधिवेशनको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भट्टराईको संयोजकत्वमा सात सदस्यीय लेखन समिति गठन गरिएको घोषणा गरे ।

समितिको अन्य सदस्यमा स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल,केन्द्रीय सदस्यहरु उषाकला राई,सृजना काफ्ले र माधव ढुङ्गेल रहेका छन् ।

समितिले मुलुकको समसामयिक राजनीतिक,आर्थिक,सामाजिक तथा जनजीविकाको चासोबारे महाधिवेशनको धारणा तय गर्ने संयोजक सचिव भट्टराईले बताए । एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको छ ।

तपाईको बिचार