काठमाडौं । अफगानिस्तानका एक १३ वर्षे बालकले काबुलदेखि दिल्लीसम्मको खतरनाक यात्रा विमानको ल्यान्डिङ गियर कम्पार्टमेन्टमा बसेर गरेको खुलेको छ ।
अधिकारीहरूका अनुसार, अफगानिस्तानको उत्तरी शहर कुन्दुजका ती किशोर सोमबार कम एयरको विमान अवतरण गरेपछि दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा भौँतारिँदै गरेको भेटिएका थिए ।
लगत्तै उनलाई भारतीय सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएर केही घण्टा सोधपुछ गरेका थिए । यसपछि उनलाई सोही विमानमार्फत पुनः काबुल पठाइको थियो । उनले आफूले यस्तो काम जिज्ञासाका कारण गरेको बताएका छन् ।
भारतीय केन्द्रीय औद्योगिक सुरक्षा बलका प्रवक्ताका अनुसार, बालक लुकेर एयरलाइन्सको RQ-4401 उडानमार्फत यात्रा गर्न सफल भएका थिए । यो विमान आइतबार बिहान करिब ११ः१० बजे दिल्लीमा अवतरण भएको थियो ।
प्रहरीले उनलाई एक्लै घुमिरहेको अवस्थामा भेटेर छुट्टै लगेर सोधपुछ गरेको थियो । बालकले आफू उक्त विमानको पछाडिको मुख्य ल्यान्डिङ गियर कम्पार्टमेन्टभित्र लुकेर बसेको बताएका छन् ।
सुरक्षाका लागि थप निरीक्षण गर्दा एयरलाइन्सका कर्मचारीहरूले सानो रातो रंगको अडियो स्पिकर पनि फेला पारेका थिए ।
द इन्डियन एक्सप्रेसका अनुसार, खासमा बालक इरान जान चाहन्थे तर आफू चढेको विमान इरानको राजधानी तेहरान नभएर भारतको राजधानी दिल्ली जान लागेको कुरा उनलाई थाहा थिएन ।
रिपोर्टअनुसार, बालक काबुल विमानस्थलमा सुटुक्क छिर्न सफल भएका थिए । उनी यात्रुहरूको समूह पछ्याउँदै विमानसम्म पुगे र ल्यान्डिङ गियर राखिने पछाडिको चक्का खाल्डोभित्र लुकेर बसे । उनको साथमा रहेको एउटै वस्तु भनेको रातो रङको स्पिकर मात्र थियो ।
हालैका वर्षहरूमा मानिसहरूले आफ्ना मुलुक छोड्न अमेरिकातर्फ वा युरोपतर्फ जाने उडानमा यसरी लुकेर यात्रा गर्ने केही घटना सार्वजनिक भएका छन् । तर, तीमध्ये अत्यन्तै थोरै मात्र बाँच्ने गरेका छन् ।
विज्ञहरूका अनुसार, यस्तो खतरनाक यात्राबाट ज्यान बचाउने धेरैजसो लुकेर यात्रा गर्नेहरू (stowaways) अवतरणका क्रममा प्रायः बेहोस हुने गर्छन् । त्यसबेला ल्यान्डिङ गियर झारिँदा उनीहरू तल खस्ने र ज्यान गुमाउने उच्च जोखिम हुन्छ ।
सन् २०२२ मा भने २२ वर्षीय केन्याली युवक एक कार्गो विमानको चक्का खाल्डो (wheel well) भित्र जीवितै भेटिएका थिए । -एजेन्सी
तपाईको बिचार