फ्रान्सका प्रधानमन्त्री लेकोर्नुद्वारा एक महिना नपुग्दै राजीनामा - MirrorNepal.com

फ्रान्सका प्रधानमन्त्री लेकोर्नुद्वारा एक महिना नपुग्दै राजीनामा


काठमाडौँ । फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले पदभार सम्हालेको एक महिना नपुग्दै राजीनामा दिएका छन् । स्थानीय समय अनुसार सोमबार बिहान राष्ट्रपति इम्यानुएल म्याक्रोंसँग करिब एक घण्टा भेट गरेपछि उनले राजीनामा दिएका हुन् ।

लेकोर्नुले २६ दिनअघि मात्र पूर्वप्रधानमन्त्री फ्राँस्वा बैरुको सरकार ढलेपछि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । तर, उनले घोषणा गरेको मन्त्रिपरिषद् पुरानै स्वरूपको भएको भन्दै संसदका विभिन्न दलले आलोचना गरेका थिए र त्यसलाई अस्वीकार गर्ने चेतावनी दिएका थिए ।

त्यसपछि सरकारले विश्वासको मत नपाउने स्थिति बनेको थियो । अब राजनीतिक दलहरूले मध्यावधि निर्वाचनको माग गरेका छन् । केही नेताहरूले राष्ट्रपति म्याक्रोंले पनि राजीनामा दिनुपर्ने बताएका छन् ।

तर म्याक्रोंले २०२७ मा कार्यकाल समाप्त नहुन्जेलसम्म पद नछोड्ने अडान दोहोर्‍याएका छन् । फ्रान्समा २०२४ को जुलाईमा भएको आकस्मिक संसदीय निर्वाचनपछि देशमा राजनीतिक अस्थिरता बढेको छ । कुनै दलको स्पष्ट बहुमत नभएकाले सरकार सञ्चालन र बजेट पारित गर्न कठिनाइ हुँदै आएको छ ।

लेकोर्नु पहिले रक्षा मन्त्री थिए र म्याक्रोंका नजिकका सहयोगी मानिन्थे । उनी पछिल्ला दुई वर्षमा फ्रान्सका पाँचौँ प्रधानमन्त्री बनेका थिए । -एजेन्सी

तपाईको बिचार