काठमाडौं । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको टिकट वितरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेपछि उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालयमा नोट अफ डिसेन्ट दर्ता गराएका छन् । शनिबार बसेको एमाले सचिवालय बैठकले देशका १४० क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाएको थियो । जसमा असहमति जनाउँदै उपमहासचिव भट्टराईले नोट अफ डिसेन्ट लेख्ने बताएका थिए ।
उपमहासचिव भट्टराईले आइतबार पार्टी कार्यालयमा पुगेर नोट अफ डिसेन्ट दर्ता गराएको एमाले कार्यालय स्रोतले जानकारी दिएको छ । टिकट वितरणमा मापदण्ड नमिलेको, प्रतिनिधिसभा उम्मेदवारमा प्रतिस्पर्धाको बेलामा पक्षधरता देखिएको, कार्यकर्तामाथि अन्याय भएको लगायतका विषय राखेर नोट अफ डिसेन्ट लेखेका छन् । भट्टराईले यसअघि निर्वाचन जितेका अनुहारलाई प्राथमिकता दिनुपर्ने, तलका जनप्रतिनिधिहरूलाई कार्यकाल छँदै माथि उम्मेदवार बनाउने कुरा रोक्नुपर्ने उल्लेख गरेका छन्।
यसैगरी भट्टराईले प्रतिनिधि सभाको उम्मेदवार छान्दा पार्टी एकतालाई ध्यानमा राख्नुपर्ने बताएका थिए। महाधिवेशनमा प्रतिस्पर्धा गरेको, फरक गुटमा लागेको आँखाबाट हेर्दा एकताको भावना ओझेल पर्ने उनले बताएका थिए।
नेकपा (एमाले) को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल खेमाबाट चुनाव लडेकाहरुलाई प्रतिनिधिसभा सदस्यको टिकटबाट बञ्चित गरिएपछि भट्टराई त्यसको विरुद्धमा उभिएका छन् । १४१ क्षेत्रका उम्मेदवारको टुंगो लाग्दा नेकपा ९एमाले० को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल खेमाबाट २ जनाले टिकट पाएका छन् ।
लगत्तै भट्टराईले सामाजिक सञ्जाल मार्फत् समर्थकहरुलाई विचलित नहुन अपिल गरेका थिए । ‘निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु । अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेद्वारहरुलाई बिजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु,’ भट्टराईले लेखेका थिए, ‘हाम्रो यात्रा लामो र गौरवपूर्ण छ ।’
अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल, महासचिव लडेका सुरेन्द्र पाण्डे, यसैगरी उपाध्यक्ष लडेका परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालले टिकट पाएनन् । उपाध्यक्षमा जितेका गोकर्ण विष्टले मात्रै पदाधिकारीबाट टिकट पाएका छन् । उपमहासचिव जितेका भट्टराईको होल्डमा राखिएको छ भने उपमहासचिव लडेका बैजनाथ चौधरी पनि पाएनन् । सचिव लडेका रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल सूचीमा परेनन् ।
सचिवका प्रतिस्पर्धी विनोद ढकाल, गोकुल बाँस्कोटाको टिकट होल्डमा परेको छ । सचिव लडेका गैरेको निर्वाचन क्षेत्र पाल्पा २ मा उपाध्यक्ष विष्णु पौडेलले टिकट पाएका छन् ।
त्यस्तै, पोखरेल समूहका नेताहरू गणेश पहाडी, झपट रावल, महेश बस्नेत (इलाम), जय राई, कृष्ण राई, अमिरबाबु गुरुङ, मनबहादुर गुरुङ, रत्न गौतम, नवराज सिलवा, बालकृष्ण सुवेदीले पनि टिकट पाएनन् । पोखरेल समूहबाट केन्द्रीय सदस्यको चुनाव लडेका भागीरथ सापकोटाले नवलपुर–१ बाट टिकट पाएका छन् ।
यसअघि चुनाव जितेका नेताले पाएनन् टिकट
१४१ क्षेत्रका उम्मेदवारको टुंगो लाग्दा नेकपा (एमाले) को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल खेमाबाट २ जनाले मात्रै टिकट पाएका छन् भने यसअघि चुनाव जितेका १३ जनाको टिकट खोसिएको छ ।
गोकुल बाँस्कोटाको टिकट होल्डमा परेको छ । बाँस्कोटाको काभ्रे-२ बाट एकल सिफारिस भएको थियो । गत पुस २१ गते बसेको एमालेको क्षेत्रीय समन्वय कमिटीको बैठकले बाँस्कोटाको नाम मात्र सिफारिस गर्ने निर्णय गरेको थियो। उनी यसअघिको निर्वाचनमा गठबन्धन विरुद्ध ४५ हजार ३४५ मत ल्याएर काभ्रे–२ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।
नेता ठाकुर गैरेको टिकट खोसिएको छ । यसअघि गठबन्धनलाई पराजित गर्दै गैरे पाल्पा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै गैरै निर्वाचित भएका हुन् । गैरेले २७ हजार ८१७ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत ल्याएका थिए ।
रुपन्देही–२ बाट चुनाव लड्दै आएका एमाले उपाध्यक्ष विष्णु पौडेलले निर्वाचन क्षेत्र परिवर्तन गर्दै पाल्पा–२ को टिकट लिएका छन् । शनिबार च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पौडेलको निर्वाचन क्षेत्र सार्नुपर्ने आवश्यकता परेको तर्क गरेका थिए ।
इलाम क्षेत्र नम्बर एककमा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै विजयी महेश बस्नेतको पनि टिकट खोसिएको छ । इलाम–१ बाट खनाल २ हजार ९५७ मतान्तरले बस्नेतसँग पराजित भएका थिए । बस्नेतको ठाउँमा काजीमान कागतले पाएका छन् । काठमाडौं क्षेत्र नम्बर ९ बाट विजयी कृष्णगोपाल श्रेष्ठको पनि टिकट होल्डमा छ । श्रेष्ठ ११ हजार ९५६ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १०९६१ मत पाएका थिए ।
झापा ४ बाट दुई दुई पटक जितेका एलपी साँवा लिम्बुको पनि टिकट खोसिएको छ । उनले २९ हजार ३१५ मत ल्याउँदै निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेलाई हराएका थिए । झापा ४ मा अखिलका पूर्व सचिव मनोज ताम्लीले पाएका छन् ।
पूर्व रक्षामन्त्री तथा केन्द्रीय सदस्य मानवीर राईको पनि टिकट खोसिएको छ । उनले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरेका थिए । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाएका थिए । राईको ठाउँमा जिल्ला कमिटीका उपसचिव कल्पना राईले टिकट हात पारेकी छिन् ।
यसैगरी तारा लामाको टिकट खोसिएको छ । लामाले कञ्चनपुर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की बिना मगरलाई पाँच हजार ५४२ मत अन्तरले पराजित गरेका थिए। तामाङले २४ हजार ८९२ मत र मगरले १९ हजार ३४४ मत प्राप्त गरेका छन्। उनका ठाउँमा कमला बोहराले टिकट पाएका छन् ।
यसैगरी कास्कीको क्षेत्र नम्बर १ बाट मनबहादुर गुरुङको टिकट खोसिएको छ ।गुरूङले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६०९ मतान्तरले पराजित गरेका थिए । एमालेका गुरुङले २५ हजार ७९८ मत ल्याउँदा कांग्रेसका बरालले २३ हजार १८९ मत ल्याएका थिए । उनको ठाउँमा बैणबहादुर क्षेत्रीलाई टिकट दिइएको छ ।
कपिलवस्तु क्षेत्र नम्बर ३ मा निर्वाचित मंगलप्रसाद गुप्ताले टिकट पाएनन् । उनले आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकप्रताप शाहलाई साढे तीन हजारभन्दा बढीको मतान्तरले हराएका थिए । गुप्ताले २२ हजार ६ सय १९ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी शाहले १८ हजार ९ सय ८२ मत प्राप्त गरेका थिए ।
सिराहा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित रामशंकर यादवको पनि टिकट खोसिएको छ । यादव २०८३ मतले नेपाली कांंग्रेसका पद्मनारायण चौधरीलाइ पराजित गर्दै विजयी भएका हुन्। यादव २९४६२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी चौधरीले २७३७९ मत ल्याएका थिए ।यसैगरी यसअघि जितेका भीमप्रसाद आचार्य र राजकुमार गुप्तालाई भने भ्रष्टाचार मुद्दाले समस्यामा पारेको हो, भने विद्या भट्टराईले भने चुनाव लड्न रुची देखाइनन् ।
यस्तै, एमालले चार वटा जिल्ला कमिटी अध्यक्षहरूलाई पनि विभिन्न क्षेत्रबाट उम्मेदवार बनाएको छ। यी चारै जना नेताहरू प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ अनुहार हुन्। जसमा जुम्लाबाट शान्तिलाल महत, मुगुबाट पूर्णबहादुर रोकाया, डोल्पाबाट लंकबहादुर रोकाया र सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ बाट कुलमणि देवकोटा उम्मेदवार छन्।
डोल्पाबाट उम्मेदवार बनेका जिल्ला अध्यक्ष रोकाया ४० वर्षमुनीका युवा नेता हुन्। उनी सहित महत, पूर्णबहादुर र देवकोटा पहिलो पटक संसदीय चुनावमा भाग लिँदैछन्।
पार्टीले पुरानै नेताहरूलाई टिकट दिएर कर्णालीका चर्चित युवा नेताहरू जाजरकोटका निरज आचार्य, दैलेखका विष्णु रिजाल लगायतले टिकट नपाएपछि कतिपय नेता–कार्यकर्ता भने रुष्ट बनेका छन्।
तपाईको बिचार