काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । उदयपुर सिमेन्ट कम्पनीको महाप्रबन्धकका रूपमा कार्यरत रहेका बेला भ्रष्टाचार गरेको आरोपमा पौडेसहित अन्य ८ जनाविरुद्ध मुद्दा दायर गरिएको हो।
आयोगले सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेल, नायव महाप्रबन्धक महेश प्रसाद काफ्लेलाई १२ करोड ४७ लाख २२ हजार २ सय ४२ बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको हो ।
यस्तै तत्कालीन निमित्त महाप्रबन्धक नवल किशोर साह,उत्पादन महाशाखा प्रमुख सञ्जय कुमार लाल, भण्डार महाशाखा प्रमुख महेश प्रसाद साह, क्लिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरि प्रसाद अधिकारी, बिक्री विभाग प्रमुख राम बहादुर जी.सी.सहितलाई जनही ४६ करोड ५२ लाख ७४ हजार ४२६ बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अनुसन्धानबाट आर्थिक वर्ष २०७४/०७५ देखि २०७७ पुस मसान्तसम्ममा कुल ३८,७६९ मेट्रिक टन क्लिङ्कर हिनामिना भएको पुष्टि भएको अख्तियारको दाबी छ ।
अख्तियारको अभियोग पत्र अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा सरकारी सम्पत्ति मास्ने बदनियत राखेर कागजी रेकर्डमा क्लिङ्करको मौज्दात बढी देखाउने तर वास्तविक भण्डारणमा कम राख्ने गरेका थिए । मन्त्रालयको छानबिन प्रतिवेदन अनुसार क्लिङ्कर र चुनढुङ्गाको उत्पादन अनुपात सामान्यतया ०.७२५ हुनुपर्नेमा उदयपुर सिमेन्टमा उक्त अनुपात घटेर ०.६४९ सम्म पुगेको पाइएको छ ।
पौडेललाई २० भदौ २०८२ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा नियुक्त गरेका थिए।
तपाईको बिचार