काठमाडौं । लिबियाका दिवंगत नेता मुअम्मर गद्दाफीका छोरा तथा उत्तराधिकारी मानिएका ५३ वर्षीय सेफ अल-इस्लाम गद्दाफीको मंगलबार राति हत्या भएको छ। यो हत्यासंगै लिबियामा एकपटक फेरि राजनीतिक तनाव चरम बिन्दुमा पुगेको छ ।
लिबियाका पूर्वशासक मुअम्मर गद्दाफीका छोरा सैफ अल–इस्लाम गद्दाफीको जिन्टान सहरस्थित आफ्नै घरमा गोली हानी हत्या भएको हो । राजधानी त्रिपोलीबाट १३६ किलोमिटर दक्षिण-पश्चिममा रहेको जिन्तान शहरस्थित आफ्नै निवासमा हतियारधारी समूहले उनीमाथि गोली प्रहार गरेको थियो।
सेफ अल-इस्लामका वकील र राजनीतिक टोलीका अनुसार चार जना नकाव लगाएका बन्दुकधारीहरू घरको सीसीटीभी विच्छेद गरी भित्र पसेका थिए। सन् २०१७ मा जेलबाट रिहा भएदेखि उनी जिन्तानमा बस्दै आएका थिए। कुनै समय आफ्ना पिताको शासनकालमा सुधारवादी चरित्रका रूपमा चिनिने सेफले लन्डन स्कूल अफ इकोनोमिक्सबाट पीएचडी गरेका थिए।
सन् २०११ को जनविद्रोहपछि उनलाई लिबियाको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो भने अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले उनीविरुद्ध मानवता विरुद्धको अपराधको मुद्दा चलाएको थियो।
सन् २०२१ मा उनले लिबियाको राष्ट्रपति पदका लागि उम्मेदवारी घोषणा गरेका थिए जसले देशमा ठूलो विवाद र विरोध निम्त्याएको थियो।१५ वर्षअघि उनका पिता मुअम्मर गद्दाफीको पनि विभत्स ढंगले हत्या गरिएको थियो ।
सैफ अल–इस्लाम कुनै समय लिबियाको सत्ताका प्रमुख दाबेदार र आफ्ना पिताको शासनकालमा सबैभन्दा शक्तिशाली व्यक्तित्व मानिन्थे । यो हत्याले लिबियाको अस्थिर सुरक्षा अवस्था र लामो समयदेखि चलिरहेको राजनीतिक संघर्षलाई पुनः विश्वको केन्द्रमा ल्याइदिएको छ ।
लिबियामा मुअम्मर गद्दाफीको ४० वर्ष लामो शासन सन् २०११ मा अन्त्य भएको थियो। सेफ अल-इस्लामको मृत्युसँगै गद्दाफी परिवारको राजनीतिक विरासतको एउटा ठूलो अध्याय समाप्त भएको छ। एजेन्सी
तपाईको बिचार