अमेरिकाले आत्मसमर्पण नगरेसम्म युद्ध जारी रहने इरानको चेतावनी - MirrorNepal.com

अमेरिकाले आत्मसमर्पण नगरेसम्म युद्ध जारी रहने इरानको चेतावनी


काठमाडाैं । इजरायल र अमेरिकाले इरानमाथि शनिबार गरेको आक्रमणपछि मध्यपूर्वमा तनाव बढेको छ। जवाफी कारबाहीस्वरूप इरानले इजरायल, साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स, ओमान र कुवैतलगायतका देशतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ। यसले क्षेत्रीय तनावलाई झन् बढाएको छ।

तनाव बढिरहेका बेला इरानको सरकारी मिडियाले सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईको मृत्यु पुष्टि गरेको छ। साथै इरानमा ४० दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ। खामेनेईको मृत्युपछि तुरुन्तै इरानले १४ वटा अमेरिकी सैन्य अड्डामाथि मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ।

इरानले आफ्ना सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईको मृत्युको बदला लिने कसम खाएको छ। उनको मृत्युपछि केही घण्टामै इरानले इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डामाथि मिसाइल र ड्रोन आक्रमण सुरु गरेको छ। साथै इरानले अमेरिका आत्मसमर्पण नगरेसम्म युद्ध जारी रहने चेतावनी दिएको छ।

इरानका सर्वोच्च नेता खामेनेईको मृत्युपछि भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो प्रतिक्रिया दिएका छन्। ट्रम्पले अब इरानसँग वार्ता गर्न सजिलो हुने बताएका छन्।

यससँगै विश्व समुदायको ध्यान इरानको नयाँ नेतृत्वतर्फ केन्द्रित भएको छ । आन्तरिक शक्ति सन्तुलन र उत्तराधिकारी चयन प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषय चासोको केन्द्रमा छ ।

इरानमा सर्वोच्च नेता चयन गर्ने अधिकार ८८ सदस्यीय विशेषज्ञको सभासँग हुन्छ । यो निकायले आवश्यक परे पदबाट हटाउने अधिकार पनि राख्छ, तर हालसम्म त्यस्तो अभ्यास भएको छैन ।

विशेषज्ञको सभा पूर्ण रूपमा शिया धर्मगुरुहरूबाट बनेको हुन्छ । यसका सदस्यहरू प्रत्येक आठ वर्षमा आमनिर्वाचनमार्फत चुनिन्छन् । उम्मेदवारहरूको मनोनयन गार्डियन काउन्सिलले अनुमोदन गर्नुपर्छ ।

गार्डियन काउन्सिलसँग उम्मेदवारलाई अयोग्य घोषणा गर्ने अधिकार हुन्छ । सन् २०२४ मार्चमा पूर्वराष्ट्रपति हसन रुहानीलाई विज्ञ सभाको निर्वाचनमा सहभागी हुन अयोग्य ठहर गरिएको थियो । इरानी कानुन अनुसार नयाँ सर्वोच्च नेता सकेसम्म छिटो चयन गर्नुपर्छ । प्रक्रिया लम्बिएमा ‘अस्थायी नेतृत्व परिषद्’ले जिम्मेवारी सम्हाल्न सक्छ ।

यो परिषद् वर्तमान राष्ट्रपति, न्यायपालिका प्रमुख र गार्डियन काउन्सिलका एक सदस्यबाट गठन हुन्छ । परिषद्का सदस्य चयनमा एक्सपेडिएन्सी काउन्सिलको भूमिका रहन्छ । यस्तो अवस्थामा राष्ट्रपति मसुद पेजेश्कियन र न्यायपालिका प्रमुख घोलाम हुसेन मोसेनी एजई परिषद्मा सहभागी हुन सक्छन् ।

उत्तराधिकारी चयनसम्बन्धी छलफल प्रायः सार्वजनिक हुँदैन । यसअघि पूर्वराष्ट्रपति इब्राहिम रायसीलाई सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको थियो । तर, सन् २०२४ मेमा हेलिकोप्टर दुर्घटनामा उनको मृत्यु भयो ।

त्यसपछि खामेनीका छोरा मोजतबा खामेनीलाई सम्भावित दाबेदारका रूपमा चर्चा गरिएको छ । उनी शिया धर्मगुरु हुन्, तर हालसम्म कुनै औपचारिक सरकारी पदमा छैनन् । पिताबाट छोरामा सत्ता हस्तान्तरण भए धार्मिक शासन प्रणाली र नागरिकबीच विवाद उत्पन्न हुन सक्ने आकलन गरिएको छ ।

अन्य सम्भावित नामहरूमा खामेनीका निकट सल्लाहकार मोहेसन कोमी, अलीरेजा अराफी, न्यायपालिका प्रमुख घोलाम हुसेन मोसेनी एजई तथा हाशिम हुसैनी बुशेहरी रहेका छन् । यी व्यक्तिहरू धार्मिक तथा प्रशासनिक संरचनामा प्रभावशाली मानिन्छन् । -एजेन्सी

तपाईको बिचार