काठमाडौं । गत दुई दिनको कारोबार वृद्धिपछि आज सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । सोमबार २६.०७ अंकले घट्दै बजार २७९८.८३ को बिन्दुमा ओर्लिएको छ ।
बजार उच्च अंकले घट्दै गर्दा कारोबार रकममा पनि गिरावट आएको छ । ३ करोड ७ लाख ९० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ९७ करोड ४६ लाख रुपैयाँमाथिको रह्यो । आइतबार झिनो अंक (४.४५अंक)ले बढेको बजारमा कारोबार रकम १४ अर्बमाथिको थियो ।
आज सबैभन्दा बढी बैंकिङ समूह, लगानी समूह र अन्य समूहको सूचक १ प्रतिशतभन्दा बढीले घट्यो । सबैजसो समूहको सूचक घट्दा आज उत्पादन तथा प्रशोधन समूहको सूचकमा झिनो अंकको वृद्धि भएको छ ।
समग्रमा सूचक घटेको भएपनि ४ कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा वृद्धि भयो । आज ४८ कम्पनीको सूचक बढ्दा २११ कम्पनीको मूल्य भने घट्यो ।
निर्वाचनअघिदेखि लगातार उकालोमा रहेको सेयर बजार निर्वाचनपछिको पहिलो कारोबार दिन उच्च अंक (१६२.९३ अंक)ले बढेको थियो । त्यसयता बजारमा तिव्र उतारचढाव देखिएको छ ।
सोमबारसहित बजार ३ कारोबार दिन घटेको छ भने २ कारोबार बढेको छ । यद्यपि, वृद्धिभन्दा गिरावटको तह उच्च छ ।
तपाईको बिचार