काठमाडाैं । इजरायल-अमेरिका र इरानबीचको जारी युद्धमा इरानले इजरायलमा अहिलेसम्मकै शक्तिशाली आक्रमण गरेको टाइम्स अफ इजरायलले जनाएको छ। शनिबार इरानले गरेको आक्रमणका कारण दक्षिणी सहर डिमोना र अरादमा १०० भन्दा बढी मानिस घाइते भएका छन्, जसमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ।
इजरायली सञ्चारमाध्यमका अनुसार आक्रमणपछि नजिकैको अराद सहरका कम्तीमा ८८ जनालाई अस्पताल भर्ना गरिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यस घटनालाई ‘अत्यन्तै कठिन साँझ’ को संज्ञा दिएका छन्। इरानले इजरायलका डिमोना र अराद सहरमा क्षेप्यास्त्र हानेको थियो। डिमोनामा इजरायलको प्रमुख आणविक ऊर्जा केन्द्र छ।
उक्त आक्रमण पश्चात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ घण्टाभित्र ‘स्ट्रेत अफ होर्मुज’ (होर्मुज जलमार्ग) नखोले त्यहाँका विद्युत् गृहहरू ‘ध्वस्त’ पारिदिने चेतावनी दिएका छन्। ४८ घण्टे अल्टिमेटमपछि इरानले पनि उल्टै अमेरिका र इजरायललाई कडा चेतावनी दिएको छ। इरानका सैन्य प्रवक्ताले इरानका इन्धन र ऊर्जा केन्द्रहरूमा कुनै पनि आक्रमण भए त्यसको कडा प्रतिकार गरिने बताएका छन्।
उनका अनुसार यस्तो अवस्थामा इरानले गल्फ क्षेत्रभर रहेका अमेरिका र उसका सहयोगी देशका सम्पत्तिहरूलाई लक्षित गरी आक्रमण गर्नेछ। विशेषगरी ऊर्जा केन्द्र, सूचना प्रविधि सञ्जाल (आईटी नेटवर्क) तथा पानी नुनरहित बनाउने (डिसेलिनेशन) सुविधाहरूमा मिसाइल प्रहार गरिने चेतावनी दिइएको छ।
यसैबीच, इरानले युद्धविराम प्रस्ताव पनि अस्वीकार गरेको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले जापानी समाचार एजेन्सी ‘क्योदो’सँगको अन्तर्वार्तामा स्पष्ट रूपमा भनेका छन् कि इरान कुनै पनि अस्थायी युद्धविराम स्वीकार गर्ने पक्षमा छैन। उनका अनुसार इरान विगत वर्षजस्तै अवस्था दोहोर्याउन चाहँदैन। त्यसैले उसले युद्धको पूर्ण, व्यापक र स्थायी अन्त्य मात्र चाहेको छ।
अराघचीले युद्धको अन्त्यसँगै भएको क्षतिको क्षतिपूर्ति हुनुपर्ने र भविष्यमा फेरि आक्रमण नहुने सुनिश्चितता पनि आवश्यक रहेको बताएका छन्। एजेन्सी
तपाईको बिचार