काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । बजार ५४.५१ अंकले बढ्दै २९३१.५५ को बिन्दुमा उक्लिएको छ । समग्रमा बजार १.८९ प्रतिशतले बढेको छ ।
उच्च अंकले बजार बढ्दा कारोबार रकम पनि उच्च अंककै भएको छ । ६ करोड १४ लाख ७ हजार ७४ कित्ता सेयर किनबेच हुँदा २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भयो । आइतबार भएको कारोबार रकम गत साउन ११ यताकै उच्च हो । उक्त दिन २५ अर्ब ९५ करोड रुपैयाँमाथिको कारोबार भएको थियो ।
उच्च अंकले बजार बढ्दै गर्दा आज व्यापार समूहबाहेक सबैको सूचक बढ्यो । सबैभन्दा धेरै लघुवित्त समूह ४.२१ प्रतिशत र होटेल तथा पर्यटन समूह ३.०५ प्रतिशतले उचालिँदा व्यापारको सूचक भने ०.११ प्रतिशतले घट्यो ।
कम्पनीगत रूपमा ६ कम्पनीको मूल्य सकारात्मक सर्किट लाग्दा ३ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढ्यो । समग्रमा १८३ को मूल्य बढ्दा ७३ को मूल्यमा करेक्सन आयो भने ८ को मूल्य स्थिर बन्यो ।
कारोबार रकमका आधारमा कुमारी बैंक सबैभन्दा शीर्ष स्थानमा रह्यो । कुमारीको कारोबार रकम ८५ करोड ९६ लाख रुपैयाँमाथिको भयो । प्रतिनिधिसभा चुनावअघिदेखि बढ्न थालेको बजार चुनावपछिको पहिलो कारोबार दिन १६२.९३ अंकले उचालिएको थियो । त्यसयता ३ कारोबार दिन घटेको बजारमा ५ कारोबार दिन वृद्धि भएको छ ।
समग्रमा चुनावअघिदेखि हालसम्म झन्डै ३ सयभन्दा बढी अंकले उचालिएको छ । रास्वपाले झन्डै दुई तिहाइ मत प्राप्त गर्दै एकल सरकारको तयारी गर्दै गर्दा लगानीकर्ता उत्साहित देखिएका छन् । जसको प्रतिफल नियमित बजार उचालिएको हो ।
तपाईको बिचार