अमेरिका र इजरायलसँगको लडाइँबाट पछि नहट्ने इरानको अडान - MirrorNepal.com

अमेरिका र इजरायलसँगको लडाइँबाट पछि नहट्ने इरानको अडान


काठमाडौँ। इरानले अमेरिका र इजरायलसँगको लडाइँबाट पछि नहट्ने अडान दोहोर्‍याएको छ । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रजाईले एक टेलिभिजन अन्तर्वार्तामा युद्धको क्षतिपूर्ति नपाएसम्म लडाइँ जारी राख्ने बताएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा पाँच दिनका लागि आक्रमण स्थगित गरेको घोषणा गरेपछि इरानको यस्तो भनाइ सार्वजनिक भएको छ । इरानले आफूमाथि लगाइएका सबै आर्थिक प्रतिबन्ध हटाइनुपर्ने र भविष्यमा अमेरिकाबाट कुनै हस्तक्षेप नहुने ठोस ग्यारेन्टी हुनुपर्ने माग पनि अघि सारेको हाे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको वार्ताको दावीकाबीच अमेरिका-इजराइल र इरान युद्धको २५ औं दिनमा मंगलबार इरानले इजरायलको तेल अभिभलगायत विभिन्न शहरमा मिसाइल प्रहार गरेको इजरायली अधिकारीहरूले बताएका छन् ।

प्रहारपछि तीनवटा आवासीय भवनमा ठूलो क्षति पुगेको र केही सवारीसाधनमा आगलागी भएको बताइएको छ । तेल अभिभमा कम्तीमा ६ जना घाइते भएको इजरायलको राष्ट्रिय आपतकालीन सेवा संयन्त्रले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको तनावकाबीच अचानक युद्धविराम घोषणा गर्दै इरानका उच्च अधिकारीसँग वार्ता जारी रहेको बताए पनि इरानले भने अस्वीकार गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको यस कदमको कारणबारे व्यापक चर्चा भइरहेको छ। प्रश्न उठेको छ— के उनी युद्धमा कमजोर हुँदै गएका थिए वा यो कदम गिरिरहेको बजार र बढ्दो तेल मूल्य नियन्त्रण गर्नका लागि थियो ?

युद्ध सुरु भएको करिब २३ दिनपछि ट्रम्पले इरानलाई ४८ घण्टाको चेतावनी दिएका थिए— यदि आक्रमण रोकिएन भने अमेरिका इरानका पावर प्लान्ट ध्वस्त पार्नेछ। तर इरानले पनि कडा प्रतिक्रिया दिँदै आक्रमण भए अझ ठूलो जवाफ दिने चेतावनी दियो।

यस तनावले विश्वभरका लगानीकर्तामा त्रास फैलियो। शेयर बजार घट्न थाल्यो, कच्चा तेलको मूल्य बढ्यो र महँगी चुलियो—विशेषगरी अमेरिकामा यसको ठूलो असर देखियो। युद्धका कारण अमेरिकी बजारमा उल्लेखनीय गिरावट आयो । डाउ जोन्स करिब ७ प्रतिशतसम्म घट्यो, एस एण्ड पी ५०० करिब ५ प्रतिशतले झर्‍यो, नास्ड्याक करिब ४.५ प्रतिशतले घट्यो र रसेल १० प्रतिशतभन्दा बढी घटेर ‘करेक्शन’ क्षेत्रमा पुग्यो । साथै, कच्चा तेलको मूल्य ११९ डलर प्रति ब्यारेलसम्म पुग्यो भने अमेरिकामा ग्यासको मूल्य पनि बढेर औसत ३.८८ डलर प्रति ग्यालन नाघ्यो।

बजारको गिरावट र महँगी बढेपछि अमेरिकी लगानीकर्ताले यसको दोष ट्रम्पलाई दिन थाले। यस्तो अवस्थामा बजारलाई स्थिर बनाउन विश्वास दिलाउनु आवश्यक भयो। यही कारण ट्रम्पले अचानक पाँच दिनको युद्धविराम घोषणा गर्दै इरानसँग वार्ता भइरहेको दाबी गरे।

मार्च २३ मा बजार खुल्दा सकारात्मक प्रभाव देखियो । डाउ जोन्स १,००० अंकभन्दा बढीले उकालो लाग्यो । एस एण्ड पी ५०० र नास्ड्याकमा २ प्रतिशतभन्दा बढी वृद्धि भयो । तेलको मूल्य १० डलर घटेर पुनः करिब १०० डलर प्रति ब्यारेलमा आयो ।

उता इरानले प्रहार गरेको मिसाइलमध्ये एकको वारहेड करिब १०० किलो  भएको इजरायली सेनाका कर्नेल मिकी डेभिडले बताएका छन् । डेभिडका अनुसार युद्ध सुरु भएयता यस प्रकारको मिसाइल पहिलो पटक प्रयोग भएको इजरायली पक्षको दाबी छ ।

यसैबीच, इजरायली सेनाले दक्षिण लेबनानमा इरान समर्थित सशस्त्र समूह हिज्बुल्लाहविरुद्धको सैन्य कारबाही जारी राखेको छ। त्यहाँका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान चेतावनी दिइएको छ।

पश्चिम एसियामा ड्रोन र मिसाइल प्रहारका घटना बढिरहेका छन् । साउदी अरबको रक्षा मन्त्रालयले विभिन्न भागतर्फ पठाइएका दर्जनौं ड्रोन आफ्नो वायु रक्षा प्रणालीले खसालेको जनाएको छ। कुवेतले पनि आफ्नो क्षेत्रमा मिसाइल प्रहार भएको दाबी गरेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यबारे फलदायी कुराकानी भएको दाबी गर्दै आगामी ५ दिन इरानका ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने बताएका थिए । तर इरानले उक्त दाबी अस्वीकार गरेको छ । एजेन्सी

तपाईको बिचार