अमेरिकी सेनाको ड्रोन होर्मुजकाे आकाशमा वेपत्ता - MirrorNepal.com

अमेरिकी सेनाको ड्रोन होर्मुजकाे आकाशमा वेपत्ता


काठमाडाैं । अमेरिकी नौसेनाको अत्याधुनिक निगरानी ड्रोन एमक्यू–४सी ट्राइटन होर्मुज जलडमरूमध्यमाथि उडानका क्रममा अचानक सम्पर्कविहीन भएको छ। अमेरिकाको सबैभन्दा महँगो ड्रोनमध्ये पर्ने यो ड्रोन हराएको घटनाले अन्तर्राष्ट्रिय स्तरमै चासो बढाएको छ।

प्राप्त विवरण अनुसार उक्त ड्रोन फारस खाडी र होर्मुज जलडमरूमध्य क्षेत्रमा करिब तीन घण्टासम्म निगरानी गरेर इटालीको सिगोनेला स्थित आफ्नो आधारतर्फ फर्किँदै थियो। उडानको निगरानी गर्ने फ्लाइटरडार२४ का अनुसार, अचानक ड्रोनले आफ्नो दिशा केही मात्रामा इरानतर्फ मोडेको देखिएको थियो। त्यसपछि ड्रोनले “७७००” संकेत पठायो, जुन सामान्य आपतकालीन अवस्थाको संकेत मानिन्छ। केही समयपछि ड्रोन तीव्र रूपमा तल झर्न थालेको र त्यसपछि पूर्ण रूपमा रडारबाट हराएको जनाइएको छ।

अहिलेसम्म उक्त ड्रोन दुर्घटनाग्रस्त भएको हो वा कसैले खसालेको हो भन्नेबारे स्पष्ट जानकारी आएको छैन। यो घटना अमेरिका र इरानबीच केही दिनअघि मात्र युद्धविराम भएको तथा इरानले होर्मुज जलडमरूमध्य जहाज आवागमनका लागि खुला गर्ने सहमति जनाएको समयमा भएको हो।

एमक्यू–४सी ट्राइटन ड्रोन अत्यन्त आधुनिक प्रविधियुक्त र महँगो मानिन्छ, जसको मूल्य करिब २०० मिलियन अमेरिकी डलर अर्थात् झन्डै १६०० करोड रुपैयाँ बराबर पर्छ। यो ड्रोन लामो समयसम्म आकाशमै रहन सक्ने क्षमता भएको छ र समुद्री क्षेत्रको विस्तृत निगरानीका लागि विशेष रूपमा तयार गरिएको हो। यसले ५० हजार फिटभन्दा माथि उडान गर्न सक्छ र लगातार २४ घण्टाभन्दा बढी समयसम्म सञ्चालनमा रहन सक्छ। यसको निगरानी दायरा करिब ७४०० नटिकल माइलसम्म फैलिएको हुन्छ।

प्रायः यो ड्रोन पी–८ए पोसीडोन गस्ती विमानसँग मिलेर काम गर्ने गर्छ र आवश्यक सूचना उपलब्ध गराउने गर्दछ। सन् २०२५ सम्म अमेरिकी नौसेनासँग यस्ता करिब २० वटा ड्रोन रहेको र थप ७ वटा खरिद गर्ने योजना रहेको बताइएको छ।

यसैबीच अमेरिका–इरानबीचको तनावका कारण अमेरिकाले ठूलो मात्रामा सैन्य खर्च व्यहोर्नुपरेको छ। उपलब्ध तथ्यांकअनुसार अमेरिका प्रत्येक सेकेन्ड करिब १० हजार ३०० डलर खर्च गरिरहेको छ, जुन नेपाली रुपैयाँमा झन्डै ९ लाख ८० हजार बराबर हुन्छ। दैनिक रूपमा सबैभन्दा धेरै खर्च हतियार तथा क्षेप्यास्त्रमा हुने गरेको छ, जसमा करिब ३२० मिलियन डलर खर्च हुने गरेको छ। त्यस्तै हवाई अभियानमा दैनिक करिब २४५ मिलियन डलर र समुद्री अपरेसनमा करिब १५५ मिलियन डलर खर्च भइरहेको छ।

यसका अतिरिक्त थाड, प्याट्रियट र एजिस जस्ता क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमा दैनिक करिब ९५ मिलियन डलर खर्च हुने गरेको छ। खुफिया तथा साइबर अभियानमा करिब ४५ मिलियन डलर र सैनिक तथा अन्य व्यवस्थापनमा करिब ३० मिलियन डलर खर्च भइरहेको जनाइएको छ।

संवेदनशील अवस्थामा भएको यस घटनाले क्षेत्रीय सुरक्षा अवस्थालाई थप जटिल बनाउन सक्ने अनुमान गरिएको छ। ड्रोन हराउनुको वास्तविक कारण अझै खुलेको छैन र यसबारे थप अनुसन्धान भइरहेको छ। एजेन्सी

तपाईको बिचार