सर्त पुरा नभए अमेरिकासँग वार्ता नगर्ने इरानको अडान - MirrorNepal.com

सर्त पुरा नभए अमेरिकासँग वार्ता नगर्ने इरानको अडान


काठमाडौँ । दुई हप्ते युद्धविराममा रहेका अमेरिका र इरानबीच आज पाकिस्तानको इस्लामाबादमा वार्ता हुने भएको छ। वार्ताका लागि दुवै देशका प्रतिनिधिमण्डल पाकिस्तान पुगिसकेका छन ।

वार्ताका लागि अमेरिकाका तर्फबाट उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा र इरानबाट सभामुख मोहम्मद बागेर गालिबाफको नेतृत्वमा प्रतिनिधिमण्डल पाकिस्तानको इस्लामाबाद आइसकेका छन्।

यसैगरी इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले गरेका छन्। वार्ता टोलीमा इरानका विदेशमन्त्री अब्बास अराघची, रक्षा परिषद् सचिव अली अकबर अहमदियान, केन्द्रीय बैंकका गभर्नर अब्दुलनासेर हेम्मती र इरानी संसद्का सदस्य पनि छन्।

इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसाक दारले देशको नुर खान विमानस्थलमा शुक्रावार स्वागत गरेका छन्।

इरानले अमेरिकासँग औपचारिक वार्ता सुरु गर्नुअघि आफ्ना ६ बुँदामा सहमति हुनुपर्ने अडानमा रहेको छ। इरानले लेबनानमा युद्धविराम लागू नभएसम्म अमेरिकासँग वार्ता नगर्ने अडान लिएको छ । इरानका संसद अध्यक्ष मोहम्मद बाकर गालिबाफले लेबनानमा युद्धविराम वार्ताको मुख्य सर्त भएको स्पष्ट पारेका छन् ।

उनले युद्धविराम नभएसम्म कुनै पनि वार्ता अघि नबढाइने बताएका छन् । गालिबाफले इरानका रोक्का गरिएका रकमसमेत फुकुवा गर्नुपर्ने माग अघि सारेका छन् । यो भनाइ अमेरिका र इरानबीच सम्भावित वार्ताको तयारी भइरहेका बेला आएको हो ।

दुवै पक्षबीच विभिन्न विषयमा अझै मतभेद कायम रहेको बताइएको छ । इरानले लेबनानमा इजरायली आक्रमणको निरन्तर विरोध गर्दै आएको छ र सोही विषयलाई वार्तासँग जोड्दै कडा अडान कायम राखेको छ ।

दोस्रो, इरानले आफूविरुद्ध लागेका सम्पूर्ण प्रतिबन्ध हटाइनुपर्ने अडान राखेको छ। यस विषयमा वासिङ्टनले सशर्त सहमति जनाउन सकिने संकेत गरेको छ। अमेरिकाले इरानले परमाणु तथा क्षेप्यास्त्र कार्यक्रम सीमित गरेमा प्रतिबन्ध हटाउने विषयमा छलफल गर्न सकिने जनाएको छ।

इरानले स्ट्रेट अफ होर्मुजमाथिको आफ्नो अधिकार अमेरिकाले स्वीकार गर्नुपर्ने पनि माग राखेको छ । साथै त्यहाँको राजश्व निर्धारणको अधिकार आफ्नो हुने उसको अडान छ। तर अमेरिकाले भने कुनै पनि अवरोध वा शुल्कबिना समुद्री मार्ग खुला हुनुपर्ने बताएको छ।

इरानले युद्धका क्रममा अमेरिकाले पुर्‍याएको क्षतिको क्षतिपूर्ति माग गरेको छ । यसबारे अमेरिकाले औपचारिक प्रतिक्रिया दिएको छैन। इरानले आफ्ना वरिपरि रहेका अमेरिकी सैन्य फौज र संरचना हटाउनुपर्ने पनि शर्त राखेको छ। साथै भविष्यमा कुनै पनि प्रकारको आक्रमण नहुने सुनिश्चितता आवश्यक रहेको उसको भनाइ छ।

यसअघि अमेरिका र इरानबीच बार्ताको पुरा तयारी पाकिस्तानको इस्लामावादमा भएको बताइएको थियो । अमेरिका र इजरायलले भने इरानसँगको युद्धविराममा लेबनानको युद्धविराम समावेश नभएको दाबि गर्दै आएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता नभएमा वा सहमतिमा नपुगेमा अझ कडा आक्रमण गर्ने चेतावनी दिएका छन् । इजरायल र अमेरिकाले इरानको क्षेप्यास्त्र कार्यक्रम पूर्ण रूपमा बन्द हुनुपर्ने माग अघि सारेका छन्। तर इरानले यो माग अस्वीकार्य भएको स्पष्ट पारेको छ।

अमेरिकी पक्षले शान्ति वार्ता सफल भएमा केही सुरक्षा सुनिश्चिततासम्बन्धी मागहरू पूरा गर्न सकिने संकेत दिएको छ। एजेन्सी

तपाईको बिचार