काठमाडौँ । लेबनान र इजरायलबीच जारी संघर्षमा तीन हप्ताका लागि युद्धविराम थप गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा भएको दोस्रो चरणको उच्चस्तरीय वार्तापछि युद्धविराम विस्तारको घोषणा गरेका हुन् ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत छिट्टै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र लेबनानका राष्ट्रपति जोसेफ आउनलाई ह्वाइट हाउसमा बोलाएर थप छलफल गर्ने योजना रहेको जानकारी दिएका छन् ।
इरानसँग सम्भावित सम्झौताबारे बोल्दै ट्रम्पले कुनै पनि सहमति अमेरिकाको हितमा मात्र हुने स्पष्ट पारे । उनले यस विषयमा कुनै निश्चित समयसीमा नरहेको र हतारमा निर्णय नगर्ने बताएका छन् ।
यस्तै, इरानविरुद्ध परमाणु हतियार प्रयोग नगर्ने पनि उनले उल्लेख गरेका छन् । उनका अनुसार परम्परागत आक्रमणबाटै इरानलाई ठूलो क्षति पुगिसकेकोले परमाणु हतियार प्रयोगको आवश्यकता नरहेको बताएका छन् ।
इजरायल र हिजबुल्लाबीच युद्धविराम उल्लंघनको आरोप
इजरायल रक्षा बल र हिजबुल्लाहले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् ।
इजरायली सेनाले लेबनानबाट प्रहार गरिएका केही प्रक्षेपास्त्रलाई रोकेको जनाएको छ। श्टुला क्षेत्रमा साइरनसमेत बजाइएको बताइएको छ। हिजबुल्लाहले भने टेलिग्राममार्फत रकेट आक्रमण गरी उक्त क्षेत्रलाई निशाना बनाएको दाबी गरेको छ ।
इजरायली सेनाले सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा तीन जनालाई मारिएको जनाएको छ । ती व्यक्तिलाई हिजबुल्लाहसँग सम्बन्धित लडाकु भएको दाबी गरिएको छ । सेनाका अनुसार उनीहरूले इजरायली वायुसेनाको विमानतर्फ क्षेप्यास्त्र प्रहार गर्ने असफल प्रयास गरेका थिए ।
इजरायली सेनाले दक्षिणी लेबनानमा तैनाथ आफ्ना सैनिकमाथि हिजबुल्लाहले दुई फरक घटनामा रकेट प्रहार गरेको पनि जनाएको छ । उसले यी गतिविधिलाई युद्धविराम सम्झौताको खुला उल्लंघन भनेको छ ।
यसअघि बिहीबार साँझ हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट प्रहार गरेको स्वीकार गर्दै त्यसलाई इजरायलले गरेको युद्धविराम उल्लंघनको जवाफ भएको जनाएको थियो ।
लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीका अनुसार शुक्रबार बिहान इजरायलले देशको दक्षिणी भागस्थित टायर सहरमा पनि आक्रमण गरेको छ। एजेन्सी
तपाईको बिचार