अमेरिकाले लुकाइरहेकाे इरान आक्रमणको क्षतिको पोल खुलेपछि - MirrorNepal.com

अमेरिकाले लुकाइरहेकाे इरान आक्रमणको क्षतिको पोल खुलेपछि


काठमाडौं । इरान–अमेरिका द्वन्द्व अहिले शान्त भए पनि युद्धका क्रममा अमेरिकी सैन्य संरचनामा पुगेको क्षतिको विवरण क्रमशः सार्वजनिक हुन थालेको छ । अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार इरानले गरेको मिसाइल र ड्रोन आक्रमणले पश्चिम एसियामा रहेको अमेरिकी सैन्य उपस्थितिमा उल्लेखनीय असर पारेको छ ।

रिपोर्टमा जनाइएअनुसार फेब्रुअरीदेखि जुनसम्म भएका आक्रमणमा बहरेनस्थित अमेरिकी नौसेनाको प्रमुख अड्डा नेभल सपोर्ट एक्टिभिटी बहरेन मा ठूलो क्षति पुगेको छ । आक्रमणबाट कमाण्ड मुख्यालय, कम्तीमा १२ वटा भवन तथा दुईवटा स्याटेलाइट सञ्चार टर्मिनलमा क्षति पुगेको दाबी गरिएको छ ।

यद्यपि अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले क्षतिको पूर्ण विवरण भने सार्वजनिक गरेको छैन । बहरेनस्थित उक्त अड्डा अमेरिकी नौसेनाको फिफ्थ फ्लीटको मुख्यालय हो। यसलाई पश्चिम एसियामा अमेरिकी सैन्य अभियान सञ्चालनका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ ।

अमेरिकी सेनाले आक्रमणका कारण कुनै प्रमुख सैन्य अभियान प्रभावित नभएको र अधिकांश सैनिकलाई पूर्वतयारीका साथ सुरक्षित स्थानमा सारिएको जनाएको छ । तर, रिपोर्टका अनुसार बहरेनसहित क्षेत्रमा रहेका कम्तीमा २० वटा अमेरिकी सैन्य तथा कूटनीतिक संरचनामाथि आक्रमण भएपछि अमेरिकाले आफ्नो समग्र सैन्य रणनीतिको पुनरावलोकन सुरु गरेको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार अहिले विभिन्न विकल्पमाथि छलफल भइरहेको छ । तीमध्ये बहरेनस्थित सैन्य अड्डाको नयाँ डिजाइन तयार गर्ने, कुवेत र साउदी अरेबियामा तैनाथ सैनिकको संख्या घटाउने, केही सैन्य गतिविधिलाई पश्चिमतर्फ सार्ने तथा कमाण्ड सेन्टरलाई भूमिगत बनाउने योजना समावेश छन् ।

यसबाहेक, केही अमेरिकी सैन्य क्षमता इजरायलमा स्थानान्तरण गर्ने विकल्पमाथि पनि विचार भइरहेको बताइएको छ । यद्यपि यसबारे कुनै अन्तिम निर्णय भने भइसकेको छैन ।

रिपोर्टअनुसार गत अप्रिलमा अमेरिकी सरकारले क्षतिग्रस्त सैन्य अड्डाहरूका स्याटेलाइट तस्बिरमा सार्वजनिक पहुँचसमेत सीमित गरेको थियो। यसको कारण सैनिकहरूको सुरक्षा रहेको बताइएको थियो।

अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले पनि संसदीय सुनुवाइका क्रममा क्षतिको वास्तविक लागत खुलाउन अस्वीकार गरेका थिए। पेन्टागनको प्रारम्भिक अनुमानमा युद्धको कुल लागत करिब २९ अर्ब अमेरिकी डलर रहेको उल्लेख भए पनि सैन्य अड्डाहरूमा पुगेको भौतिक क्षति त्यसमा समावेश गरिएको थिएन।

द वाल स्ट्रिट जर्नलका अनुसार बहरेनस्थित सैन्य अड्डाका क्षतिग्रस्त भवनहरूको पुनर्निर्माणमै करिब ४० करोड अमेरिकी डलर खर्च हुन सक्छ ।

यस्तै, सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजको अनुमानअनुसार पश्चिम एसियाभर रहेका अमेरिकी सैन्य अड्डाहरूमा पुगेको कुल क्षतिको लागत २.२ अर्बदेखि ५.१ अर्ब अमेरिकी डलरसम्म पुग्न सक्ने आकलन गरिएको छ । -एजेन्सी

तपाईको बिचार