अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण - MirrorNepal.com

अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण


काठमाडौं । अमेरिकाले इरानमाथि पुनः हवाई आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले शनिबार इरानका विभिन्न सैन्य पूर्वाधारमाथि अतिरिक्त आक्रमण गरेको जनाएको हो ।

सेन्टकमका अनुसार शुक्रबार इरानी आक्रमणको जवाफस्वरूप अमेरिकी कारबाहीपछि इरानलाई युद्धविराम सम्झौताको पालना गर्ने अवसर दिइएको थियो । तर, इरानले शनिबार बिहान करिब ४ः३० बजे (स्थानीय समय) एकतर्फी आक्रमणकारी ड्रोन प्रहार गरी पानामाको झण्डा बोकेको तेलवाहक ट्याङ्कर लाई निशाना बनाएको आरोप अमेरिकाले लगाएको छ ।्उक्त जहाज होर्मुज जलडमरूमध्य नजिकै दुई करोडभन्दा बढी ब्यारेल कच्चा तेल बोकेर गइरहेको सेन्टकमले जनाएको छ ।

अमेरिकी सेनाले त्यसपछि इरानको सैन्य निगरानी पूर्वाधार, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा प्रणाली, ड्रोन भण्डारण केन्द्र तथा समुद्री सुरुङ (माइन) बिछ्याउने क्षमतासम्बन्धी सैन्य संरचनामाथि लक्षित आक्रमण गरेको जनाएको छ । सेन्टकमले होर्मुज जलडमरूमध्य हुँदै अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको आवतजावत जारी रहेको उल्लेख गर्दै अमेरिकी सेना सतर्क, सक्षम र आवश्यक परे थप कारबाहीका लागि तयार रहेको जनाएको छ ।

यता, इरानको खाताम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ता इब्राहिम अलफिकारले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकालाई कडा चेतावनी दिएका छन् ।

उनले लेखेका छन,‘तिमीहरूले हाम्रो सार्वभौमिकतामाथि प्रहार गरेका छौ। अब समीकरण बदल्ने व्यावहारिक जवाफको अपेक्षा गर । तिमीहरूले गलत आकलन गरेका छौ र हाम्रो धैर्य समाप्त भइसकेको छ । लामो र अन्त्यहीन रातको तयारी गर । अबका केही घण्टाले हाम्रो शक्तिको उत्तर दिनेछन् ।’

यसैबीच, बहराइनले पनि शनिबार इरानमाथि आफ्नो भूमिमा धेरै ड्रोन प्रहार गरेको आरोप लगाएको छ । बहराइनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त घटना आफ्नो सार्वभौमिकतामाथिको गम्भीर उल्लंघन भएको उल्लेख गर्दै यसले क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्ने प्रयासलाई कमजोर बनाएको आरोप लगाएको छ । यो घटनाक्रम पश्चिम एसियामा हालैको द्वन्द्व अन्त्य गर्न गरिएको युद्धविराम लागू भएपछि अमेरिका र इरानबीच पहिलो पटक प्रत्यक्ष सैन्य आक्रमण आदानप्रदान भएको केही घण्टापछि सार्वजनिक भएको हो ।

इरानद्वारा कुवेत र बहराइनमा आक्रमण

बीबीसी फारसी सेवाका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले आइतबार बिहान कुवेतको अली अल-सलेम एयर बेस र बहराइनमा रहेको अमेरिकाको पाँचौँ फ्लिट मुख्यालयसँग सम्बन्धित आठ स्थानलाई निसाना बनाइएको बताएको छ।

आईआरजीसीका अनुसार त्यहाँ ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार गरिएको हो। विज्ञप्तिमा भनिएको छ, ‘आक्रमण हालैका अमेरिकी हमलाको बदलामा हो।’ अमेरिकी अधिकारीहरूले अहिलेसम्म कुनै क्षति वा हताहतबारे केही बताएका छैनन्।

आईआरजीसीले अमेरिकाले पहिले आईआरजीसी नौसेना र एक जहाज आमनेसामने भएको बहानामा इरानका पाँच तटीय चौकीमा आक्रमण गरेको उल्लेख गरेको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘इस्लामाबाद सम्झौताका आधारमा हर्मुज स्ट्रेटमा ट्राफिक नियन्त्रण गर्ने जिम्मेवारी इरानको हो र आईआरजीसीले अब उल्लंघनकारी जहाजविरुद्ध थप कडा कारबाही गर्नेछ।’

आईआरजीसीले युद्धविरामको थप उल्लंघनले इस्लामाबाद सम्झौताको प्रगतिलाई रोक्न सक्ने चेतावनी पनि दिएको छ।

यसैबिच अमेरिकी सेनाले आफ्ना लडाकु विमानले हर्मुज स्ट्रेटनजिकै इरानका लगभग १० सैन्य अड्डालाई निसाना बनाएको दाबी गरेको छ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले एक्समा लेखेको छ, ‘इरानले एम/टी किकुमा गरेको ड्रोन आक्रमणको जवाफमा अमेरिकी नौसेना र वायुसेनाका लडाकु विमानले शनिबार राति हर्मुज स्ट्रेट र आसपास इरानका १० सैन्य अड्डामा प्रहार गरेका छन्।’

सेन्टकमले एउटा भिडिओ पनि जारी गरेको छ, जसमा रातको अँध्यारोमा विस्फोट भएको देखिन्छ। इरानले अमेरिकाको पछिल्लो आक्रमणबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम उल्लंघन जारी रह्यो भने इरानको अस्तित्व नै समाप्त हुने चेतावनी दिएका छन्।

उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘युद्धविराम सम्झौताको पुन: उल्लंघन गरेपछि अमेरिकी विमानले इरानका क्षेप्यास्त्र/ड्रोन भण्डारण सुविधा र रडार प्रतिष्ठानमा प्रहार गरेका छन्।’

उनले अगाडि लेखेका छन्, ‘के देखिन्छ भने उनीहरू (इरान) ले कहिल्यै पाठ सिक्ने छैनन्। त्यस्तो समय आउन सक्छ- सैन्य बल प्रयोग गरेर हामीले सफलतापूर्वक सुरु गरेको कार्य पूरा गर्न बाध्य हुनेछौँ।’

‘यदि त्यसो भयो भने इरानको इस्लामिक गणतन्त्र अस्तित्वमा रहनेछैन।’ हालै मात्र अमेरिका र इरानबिच युद्ध अन्त्यका लागि शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो।

यो लागु गर्ने विषयमा अमेरिका र इरानबिच यही असार ७ गते स्विट्जरल्यान्डमा पहिलो चरण वार्ता पनि भएको थियो।

तर फेरि अमेरिका र इरानबिच लडाइँ सुरु भएको हो। एजेन्सी

तपाईको बिचार