काठमाडौं । नेपाल राष्ट्र बैंकले १ वर्ष अवधिको लागि ३५ अर्ब बराबरको ऋणपत्र जारी गरेको छ । बैंकले मिति २०८३ असार १६ गते ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘क’’ निष्कासन गर्ने सम्बन्धी सूचना सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रको बोलकबोल असार १६ गते मध्याह्न ३ बजेसम्म नेपाल राष्ट्र बैंकको अनलाइन प्रणालीमार्फत मात्र गर्न सकिने जनाएको छ ।
ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ । ऋणपत्रको साँवा भुक्तानी मिति २०८४ असार १६ गते तोकिएको छ ।
बोलकबोलमा न्यूनतम रु. ५ करोडदेखि कुल आह्वान रकमसम्म, ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कबोल गर्न सकिने व्यवस्था गरिएको छ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको स्वीकृत रकम धितोका रूपमा प्रयोग गर्न सकिनेछ । बोलकबोलमार्फत संकलित रकमको बाँडफाँट गर्दा न्यून ब्याजदरदेखि उच्च ब्याजदरको क्रमका आधारमा एकल ब्याजदर कायम गरी सोही दर र सोभन्दा कम ब्याजदरमा बोल गर्ने संस्थालाई ऋणपत्र बिक्री गरिनेछ ।
निष्कासन मितिमा सम्बन्धित काउण्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा स्वीकृत बोल रद्द गरिने र २.५ प्रतिशत हर्जानासहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ ।
नेपाल राष्ट्र बैंकले ऋणपत्रको परिपक्व मिति अघि रकम फिर्ता नहुने स्पष्ट गरेको छ । साथै, उक्त लगानी रकम अनिवार्य नगद मौज्दातमा गणना नहुने तर वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न सकिने जनाएको छ ।
ऋणपत्रसम्बन्धी थप प्रक्रिया प्रचलित ऐन, नियम र व्यवस्था अनुसार हुने राष्ट्र बैंकले जनाएको छ ।
तपाईको बिचार