इजरायललाई हवाइ क्षेत्र प्रयोग गर्न नदिन इराकलाई इरानको आग्रह - MirrorNepal.com

इजरायललाई हवाइ क्षेत्र प्रयोग गर्न नदिन इराकलाई इरानको आग्रह


  • Mirror Team १ असार २०८२, सोमबार १२:३३:०२

काठमाडौं । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले इराकलाई इजरायललाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न नदिन आग्रह गरेका छन्।

इरानी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार इरानी राष्ट्रपतिले इराकलाई इरानमाथि आक्रमण गर्न इजरायललाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्नबाट रोक्न आग्रह गरेका छन्।

इराक भौगोलिक रूपमा इजरायल र इरानको बीचमा अवस्थित छ।

विज्ञप्ति अनुसार, मसूद पेजेश्कियानले इराकलाई इरान विरुद्ध इराकी भूमिको दुरुपयोग नहोस् भनेर थप सतर्क रहन आग्रह गरे।

यसैबीच, इराकी प्रधानमन्त्री शिया अल-सुदानीले बगदादमा रहेका युरोपेली संघका राजदूतलाई भने – इरानमाथि इजरायलको आक्रमण “इराक र क्षेत्रको सुरक्षा र स्थिरताको लागि प्रत्यक्ष खतरा” हो र कूटनीतिक प्रयासहरूमा बाधा पुर्‍याउने उद्देश्यले गरिएको थियो।

शुक्रबार राति इजरायलले इरानको आणविक केन्द्रहरूमा आक्रमण गरेको थियो, जसपछि इरानले बदलास्वरूप इजरायलतर्फ मिसाइल प्रहार गरेको थियो।

त्यसयता दुवै देशले एकअर्कामाथि हवाई आक्रमण गरिरहेका छन्। इजरायल र इरानले पनि शनिबार राति एकअर्कामाथि आक्रमण गरेका थिए।

तपाईको बिचार