प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता - MirrorNepal.com

प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता


काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजबीच आज द्विपक्षीय भेटवार्ता भएको छ।

स्पेनको सेभिल्लामा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै पर्यटन, जलवायु परिवर्तन, लगानी, जनता–जनताबीच सम्पर्कलगायत विषयमा छलफल भएको थियो। प्रधानमन्त्री ओलीले समकक्षी साञ्चेजलाई नेपालको औपचारिक भ्रमणको निमन्त्रणा दिँदै नेपालमा स्पेनको दूतावास खोल्न आग्रह गरेका थिए।

स्पेनका प्रधानमन्त्री साञ्चेजले राष्ट्रसङ्घको शान्ति मिसनमा नेपालले खेल्दै आएको भूमिकाप्रति प्रशंसा गरे।

भेटवार्तामा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल सहभागी थिए। प्रधानमन्त्री स्पेनको मेड्रिड हुँदै आजै सेभिल्ला आइपुगेका हुन्।

प्रधानमन्त्री ओलीले आजै सम्मेलन अन्तर्गको नागरिक समाज मञ्चको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका छन्।

 

तपाईको बिचार