पुटिन-ट्रम्प वार्तापछि रुसद्वारा युक्रेनमा भीषण हमला - MirrorNepal.com

पुटिन-ट्रम्प वार्तापछि रुसद्वारा युक्रेनमा भीषण हमला


काठमाडौं । रुसले युक्रेनको राजधानी किएभमा बिहीबार रातभर भीषण आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्।रुसले रातभरि गरेको ड्रोन हमलाका कारण राजधानी किभए शुक्रबार बिहानसम्म धुवाँको मुस्लोले ढाकेको उनीहरूको भनाइ छ।

रूसले युक्रेनको राजधानीमा किभ लगायतका सहरमा लक्ष्य बनाएर ५३९ वटा ड्रोन र ११ वटा क्रुज तथा ब्यालिस्टिक मिसाइल प्रहार गरेको अमेरिकी मिडिया सिएनएनले लेखेको छ। युक्रेनी वायु सेनाले रूसबाट प्रहार भएकामध्ये ४७६ ड्रोन हवाइ प्रतिरक्षा प्रणालीले नष्ट पारेको बताएको छ।

युक्रेनको आपतकालीन सेवाका अनुसार आक्रमणका कारण धेरै शहरी जिल्लाहरूमा भवन र संरचनाहरूमा आगो लागेको छ। साथै बहु-तले भवनहरू पनि आंशिक रूपमा ध्वस्त भएका थिए। किभको रेलमार्गमा पनि क्षति पुगेको आपतकालीन सेवाका अधिकारीहरूलाई उद्धृत गरेर सिएनएनले लेखेको छ।

युक्रेनले रूसले गएराति गरेको हमलालाई युद्ध सुरू भएयताकै ठूलो हमला भनेको सिएनएनले जनाएको छ। किभमा रूसी हमला रोक्न रातभरि डिफेन्स सिस्टम सक्रिय गराइएको थियो। रूसी हमला र युक्रेनी डिफेन्स सिस्टम सक्रिय हुँदा राजधानीवासीले रातभरि निद्रा नपाएको बताइएको छ।

युक्रेनले भनेको छ, ‘अँध्यारो हुनेबित्तिकै डिफेन्स गन र ड्रोनको गड्यागुडुङ र ठूलो विस्फोटका आवाज सुनिन थाल्यो। रुसले रातभर ५५० ड्रोन र ११ वटा मिसाइल प्रहार गर्‍यो।’

युक्रेनमा यो आक्रमण अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको केही घण्टापछि भएको बीबीसीले उल्लेख गरेको छ।

यो कुराकानीपछि ट्रम्पले पुटिन युक्रेनविरुद्धको युद्ध अन्त्य गर्न तयार नभएको भन्दै आफू ‘निराश’ भएको बताएका थिए।

बिहीबार पुटिनसँगको वार्तापछि ट्रम्पले लडाइँ अन्त्य गर्ने दिशामा ‘कुनै प्रगति’ नभएको बताएका थिए। -सिएनएन/बीबीसी

तपाईको बिचार