रुसद्वारा युक्रेनमा आक्रमण, फेरि युक्रेनमा हतियार आपूर्ति गर्दै अमेरिका - MirrorNepal.com

रुसद्वारा युक्रेनमा आक्रमण, फेरि युक्रेनमा हतियार आपूर्ति गर्दै अमेरिका


काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोमार्फत युक्रेनमा हतियार पठाउने बताएका छन्। जसमा प्याट्रियट वायु रक्षा प्रणाली पनि हुनेछन्। ट्रम्पले एनबीसी न्युजसँग भनेका छन्, ‘नयाँ सम्झौतामा हामी प्याट्रियटलाई नेटोमा पठाउनेछौँ र त्यसपछि नेटोले यसलाई वितरण गर्नेछ।’

साथै ट्रम्पले यी हतियारहरूको मूल्य नेटोले चुकाउने कुरा पनि स्पष्ट पारे। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पसँग कुराकानी ‘सकारात्मक’ भनेपछि उक्त घोषणा भएको हो। गत हप्ता युक्रेनी सहरहरूमा रुसका ड्रोन र मिसाइल आक्रमण व्यापक भएपछि जेलेन्स्कीले १० प्याट्रियट प्रणाली मागेका थिए।

‘नेटो’ युरोप र उत्तर अमेरिकी देशहरूको सैन्य गठबन्धन हो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले आफ्नो देशमा सैन्य आपूर्ति पुनः सुरु गरेको बताएका छन्। गत हप्ता मात्र अमेरिकाले युक्रेनमा केही महत्त्वपूर्ण हतियार आपूर्ति बन्द गर्ने बताएको थियो।

रुसको बढ्दो हवाई आक्रमणपछि अमेरिकाले उक्त निर्णय गरेको हो। ट्रम्पले हतियार आपूर्ति बन्द भएमा युक्रेनको सुरक्षामा असर पर्ने चिन्ता व्यक्त गरेका थिए।

यसैगरी रुसी सेनाले युक्रेनी सैन्य हवाई क्षेत्रमा आक्रमण गरेको जनाएको छ। युक्रेनले पनि रुसले कीभ र अन्य स्थानहरूमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको बताएको छ।

रुसको रक्षा मन्त्रालयले बिहीबार आफ्नो सेनाले विगत २४ घण्टामा लामो दूरीका हतियार र ड्रोनहरू प्रयोग गरेर युक्रेनी सैन्य हवाई क्षेत्रमा ठूलो मात्रामा आक्रमण गरेको जनाएको हो।

रुसी सेनाले खार्किभ, डोनेट्स्क, निप्रोपेट्रोभ्स्क र अन्य क्षेत्रहरूमा युक्रेनी सेनाले गरेका धेरै आक्रमणहरूलाई विफल पारेको दाबी गरेको छ। युक्रेनी सेनाको ठूलो मात्रामा सैन्य उपकरणहरू नष्ट भएको रुसको दाबी छ।

रुसी रक्षा मन्त्रालयले सोही दिन निकोलाभ क्षेत्रमा रहेको युक्रेनी तैनाथी स्थलमा रुसी सेनाले मिसाइल प्रहार गरेको भिडियो पनि जारी गरेको थियो। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बिहीबार रुसले किभ र अन्य स्थानहरूमा १० घन्टासम्म हवाई आक्रमण गरेको बताए।

युक्रेनी वायुसेनाले सामाजिक सञ्जालमा पोस्ट गर्दै युक्रेनका आठ स्थानहरू हवाई आक्रमणबाट प्रभावित भएको जानकारी दिएको छ। युक्रेनको वायु रक्षा बलले ३८२ हवाई लक्ष्यहरूलाई अवरुद्ध गरेको थियो। युक्रेनमा ठूलो मात्रामा हवाई आक्रमण भएको यो लगातार दोस्रो दिन थियो। -एजेन्सी

तपाईको बिचार