काठमाडौं । स्पेनमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । दर्जनौं घाइते भएका छन् । पछिल्लो एक दशकभन्दा बढी अवधिमा यसलाई देशकै सबैभन्दा ठूलो रेल दुर्घटना मानिएको छ । मालागाबाट म्याड्रिडतर्फ गइरहेको उच्चगतिको एक रेल कोर्डोबा सहर नजिकै पर्ने आदामुज नगर नजिकै दुर्घटनाग्रस्त भएको थियो ।
सो रेल लिक छाडेर अर्को ट्रयाकमा पुगेपछि विपरीत दिशाबाट (म्याड्रिडबाट हुएल्भातर्फ) आइरहेको अर्को रेलसँग ठोक्किएको थियो ।दुर्घटनामा कम्तीमा ७३ जना घाइते भएको र ३० जनाको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको स्पेनका यातायात मन्त्री ओस्कार पुयन्तेले बताएका छन् ।
मन्त्री पुयन्तेले यो दुर्घटना ‘अत्यन्तै अचम्मलाग्दो’ भएको बताएका छन् । किनभने रेल सीधा ट्रयाकमा दुर्घटनाग्रस्त भएको थियो, जुन ट्रयाक गत वर्ष मे महिनामा मात्रै मर्मतसम्भार गरिएको थियो । मालागाबाट स्थानीय समयअनुसार १८:४० बजे प्रस्थान गरेको रेल करिब १० मिनेटमै दुर्घटना भएको थियो ।
मालागाबाट सञ्चालन गरिएको रेल यात्राको जिम्मा लिएको निजी रेल कम्पनी इर्योले पहिलो पटक लिक छाडेको रेलमा करिब ३०० यात्रु रहेको जनाएको छ । अर्कोतर्फ, रेन्फे कम्पनीले सञ्चालन गरेको म्याड्रिड–हुएल्भा रेलमा करिब १०० यात्रु थिए । रेल दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । अनुसन्धानको निष्कर्ष आउन कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको छ ।
यसैबीच स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै देशले ‘गहिरो पीडाको रात’ भोग्नुपरेको बताएका छन् ।स्पेनका राजा फेलिपे छैठौँ र रानी लेतिजियाले पनि दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रों र युरोपेली आयोगकी प्रमुख उर्सुला फोन डर लेयेनले पनि शोक सन्देश दिएका छन् ।
सन् २०१३ मा स्पेनको उत्तर–पश्चिमी क्षेत्र गालिसियामा भएको उच्चगतिको रेल दुर्घटना देशकै सबैभन्दा भयावह दुर्घटना थियो, जसमा ८० जनाको मृत्यु भएको थियो भने १४० जना घाइते भएका थिए ।
तपाईको बिचार