काठमाडौँ । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार पुगेको हो। यो हालसम्मकै सर्वाधिक भाउ हो ।
हिजो आइतबार सुन तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो। पछिल्ला दिनमा निरन्तर बढ्दो क्रममा रहेको सुनको भाउ शुक्रबार तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो।
चाँदीको भाउ पनि आज बढेको छ। आज चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपदेखि क्यानडासम्मका प्रमुख सहयोगीहरूसँगको सम्बन्ध बिगारेपछि लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित भएपछि सुनको मूल्य बढेको बताइएको छ ।
यस वर्षको पहिलो २६ दिनमा, सुनको मूल्य १५ प्रतिशतले बढिसकेको छ । २०२५ मा सुनको मूल्य ६५ प्रतिशतले बढेको थियो । जुन १९७९ पछिको सबैभन्दा ठूलो वृद्धि थियो ।
विश्वभर नै अनिश्चितताको समयमा सुनलाई प्रायः आश्रय र सुरक्षित लगानीको सम्पत्तिको रुपमा हेरिन्छ । ग्रीनल्याण्डलाई आफ्नो कब्जामा लिनेदेखि क्यानडा र युरोपमा कर लगाउने धम्की दिएपछि विश्वव्यापी रुपमा ट्रम्पको आलोचना भइरहेको छ भने यसले लगानीकर्तालाई शेयर बजार र अन्य सम्पत्ति भन्दा सुरक्षित लागेको छ ।
कमजोर अमेरिकी डलर, अपेक्षाभन्दा बढी मुद्रास्फीति र फेडले यस वर्ष ब्याजदर थप कटौती गर्ने भविष्यवाणीले पनि सुनको माग बढाएको छ । सोमबार सुन २.०२ प्रतिशतले बढेर प्रति औँस ५ हजार ८० डलर पुगेको छ । योसँगै सुनको मार्केट क्याप ३५.३२२ ट्रीलियन डलर पुगेको छ ।
त्यसैगरी अर्को सुरक्षित सम्पत्ति, चाँदी, ६.२८ प्रतिशतले बढेर १०७.७० डलर प्रति औंस पुगेको छ । यो १९७९ पछिको सबैभन्दा बढी हो । त्यस्तै २०२५ मा चाँदी १४१ प्रतिशतले वृद्धि भएको थियो ।
तपाईको बिचार