नेपाल पनि निपाह भाइरसको उच्च जोखिममा - MirrorNepal.com

नेपाल पनि निपाह भाइरसको उच्च जोखिममा


काठमाडौँ । छिमेकी मुलुक भारतमा निपा भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च शतर्कता अपनाएको छ । भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी शुरु गरिएको मन्त्रालयले जनाएको हो ।

निपा संक्रमण फैलिएको क्षेत्रबाट आउने व्यक्तिलाई केही समय क्वारेन्टाइनमा बस्न र उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा नजान मन्त्रालयले सबैमा अपिल समेत गरेको छ ।

भारतको पश्चिम बङ्गालमा घातक निपाह भाइरस जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखिएको छ । यो भाइरस छिमेकी देश भारतको पश्चिम बङ्गालमा पुष्टि भएसँग नेपालमा पनि यसको उच्च जोखिममा परेको चिकित्सक बताउँछन् ।

चमेरा, बङ्गुर लगायतका जनावर नेपालमा पनि रहेकाले यसको जोखिम नेपालमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।

मन्त्रालयले यसको जोखिमलाई मध्यनजर गर्दै नेपालमा यो भाइरस भित्रिन नदिन सतर्कता अपनाइएको डा. बुढाथोकीको भनाइ छ ।विमानस्थल, सीमा नाका तथा स्वास्थ्य संस्थाहरूलाई निगरानीमा राखिएको र शङ्कास्पद लक्षण देखिएका व्यक्तिको स्याम्पल लिएर परीक्षण गर्न निर्देशन दिएको डा. बुढाथोकीले बताए ।

मन्त्रालयले सीमा नाकामा निगरानी कडा बनाउन, स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको र सम्भावित जोखिम न्यूनीकरणका लागि प्रदेश तथा स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए ।

उनले भने, “निपाह भाइरसको जोखिम नेपालमा पनि उच्च छ। त्यसैले सीमा क्षेत्रमा रहेका हेल्थ डेस्कलाई सक्रिय बनाइएको छ। शङ्कास्पद लक्षण देखिएका यात्रुहरूलाई तत्कालै पहिचान गरी आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।”

निपाह भाइरसको सङ्क्रमण नेपालमा हालसम्म पुष्टि नभए पनि यसको जोखिम उच्च रहेको डा. बुढाथोकी बताउछन्।

निपाह भाइरस कस्तो रोग हो ?

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार निपाह भाइरस पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको भाइरस हो । यो भाइरस विशेषगरी फलफूल खाने चमेरामा बढी मात्रमा पाइने गर्छ ।

निपाह भाइरस जनावरबाट जनावरमा, जनावरबाट मानिस र मानिसबाट मानिसमा पनि सर्ने डा. पुन बताउछन् । सङ्क्रमित चमेरोबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने हुँदा जनावरसँग नजिक हुने मानिस यसको जोखिममा हुने डा. पुनको भनाइ छ ।

सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, सङ्क्रमित व्यक्तिको रगत, दिसा पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा यो भाइरस सर्छ ।

लक्षण

यो रोगका लक्षण अन्य भाइरससँग मिल्दा जुल्दा हुने हुँदा धेरै जना झुकिने चिकित्सक बताउँछन् । भाइरस शरीरमा प्रवेश गरेको चार दिन देखि १४ दिनमा यसका लक्षण देखिने डा. पुन बताउछन्।

सङ्क्रमण भएमा ज्वरो आउने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने र टन्सिलाइटिस हुने, श्वासप्रश्वासमा कठिनाइ हुने जस्ता लक्षण देखिने डा. पुनको भनाइ छ ।

समयमा नै उपचार नपाएमा लक्षण देखिएको २४ देखि ४८ घण्टाभित्र निमोनिया तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएर बिरामी अचेतभई मृत्यु समेत हुने गर्छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार निपाह भाइरसको मृत्युदर ४० देखि ७० प्रतिशत सम्म रहेको छ। अध्ययनहरूले कुनै कुनै ठाउँमा यसको मृत्युदर सत प्रतिशत रहेको देखाएको छ ।

हालसम्म निपाह भाइरसविरुद्ध विशेष खोप वा निश्चित उपचार उपलब्ध छैन। यसको उपचार लक्षणको आधारमा गरिन्छ । सङ्क्रमण हुन नदिनु नै यो रोगबाट बच्ने उपाय हो ।

ज्वरो वा श्वासप्रश्वाससम्बन्धी लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा जाँच गराउनु र सङ्क्रमितसँग नजिकको सम्पर्कबाट टाढा रहन चिकित्सकको आग्रह छ । यो रोगबाट नआति सतर्कता अपनाउन चिकित्सकको सुझाव छ ।

रोकथामका उपायहरू

यदि यो रोग लागेको शङ्का लागेमा वा सङ्क्रमित देशबाट फर्किएमा क्वारेन्टाइनमा बस्न डा. पुनको सुझाव छ ।

यो भाइरस लाग्नबाट बच्न फलफूल राम्रोसँग पखालेर मात्र खाने र तरकारी पकाएर खाने, गाईबस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने, पानी उमालेर मात्र पिउने, बेलाबेलामा साबुनपानीले हात धुने र भिडभाडमा जाँदा मास्क लगाउने चिकित्सकको सुझाव छ ।

तपाईको बिचार