प्रधानमन्त्री कार्की पाथीभरा र फुङलिङमा अन्तरक्रिया गर्दै - MirrorNepal.com

प्रधानमन्त्री कार्की पाथीभरा र फुङलिङमा अन्तरक्रिया गर्दै


  • Mirror Nepal १ फागुन २०८२, शुक्रवार १६:२९:२१

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी र हिमाली जिल्लाहरुको वस्तुस्थिति बुझ्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार ताप्लेजुङको पाथीभरा र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दा तथा सरकारी अधिकारीहरुसँग अन्तरक्रिया गर्नु भएको छ ।

बिहानै प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनपछि प्रधानमन्त्री कार्कीले त्यहाँ भेला भएका स्थानीय तथा विभिन्त्र क्षेत्रका दर्शनार्थीहरुसँग अन्तरक्रिया गर्नु भएको हो ।

प्रधानमन्त्रीले भन्नु भयो, ‘म यहाँ चुनाव सफल होस् भन्नका लागि आएकी हुँ । तपाईँहरु सबै जना मतदान गरिदिनुहोला । चुनावलाई शान्तिपूर्ण बनाउन आ–आफ्नो ठाउँबाट भूमिका खेलिदिनुहोला । यसपालीको चुनाव अरु नियमितजस्तो सामान्य चुनाव होइन, यो विशेष अवस्थामा हुन लागेको चुनाव हो । यसले देशलाई निकास दिनुपर्छ। देशको भविष्य कोर्ने चुनाव हो यो ।’

प्रधानमन्त्री कार्कीलाई पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे, पुजारी डिल्लीरमण पौडेललगायतले स्वागत गरेका थिए । पाथीभराबाट आजै प्रधानमन्त्री कार्की ताप्लेजुङको सदरमुकाम फुङलिङमा सरकारी अधिकारीहरुसँग छलफल गर्नु भएको थियो ।

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ, नेपाली सेनाको दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठकलगायतले निर्वाचन तयारी र सुरक्षा अवस्थाका बारेमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराए ।

प्रमुख जिल्ला अधिकारी सेढाईँका अनुसार, ९० हजार ३२७ मतदाता र एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा २ अस्थायीसहित ८२ मतदानस्थल तोकिएको छ । यीमध्ये चारवटा मतदानस्थल भौगोलिक रुपमा विकट र हिमाली क्षेत्र रहेका छन् । अहिलेसम्म मौसम सामान्य रहेको र खासै प्रतिकूलता नरहेको भएपनि हिमपात भएमा मतदानका लागि कर्मचारी आवतजावत गर्न कठिन हुनसक्ने उनको भनाइ थियो । साथै मतपेटिका हेलिकप्टरबाट ओसार्ने व्यवस्थाका लागि उनले अनुरोध पनि गरे ।

अहिलेसम्म सुरक्षा अवस्था सामान्य रहेको, कुनै अप्रिय घटना नभएको र चारवटै सुरक्षा निकायबीच चुस्त समन्वय रहेका कारण आगामी दिनमा अझै सहज ढंगले निर्वाचन गतिविधि सम्पन्न गर्न सकिनेमा आफूहरु ढुक्क रहेको पनि उनले बताए ।

उक्त छलफलको समापनमा प्रधानमन्त्री कार्कीले यो निर्वाचन शान्ति, सुरक्षा, स्वच्छता र मितव्ययिता सबै कोणबाट भविष्यका लागि मानक बन्ने गरी काम गर्न निर्देशन दिनु भयो ।

तपाईको बिचार

सम्बन्धित खबर