बंगलादेशमा जस्तै आगो लगाउनेहरू हार्नेछन् : प्रचण्ड - MirrorNepal.com

बंगलादेशमा जस्तै आगो लगाउनेहरू हार्नेछन् : प्रचण्ड


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमनकारी शक्ति जनताबाट पराजित हुने दाबी गरेका छन् ।

रुकुम पूर्वको चुनबाङमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै  संयोजक प्रचण्डले आगजनी र हिंसात्मक गतिविधि फैलाउनेहरूलाई अब जनताले स्पष्ट रूपमा अस्वीकार गर्ने बताएका हुन् ।

उनले विगतमा राज्यका महत्वपूर्ण संरचना र निजी सम्पत्तिमाथि आगजनी भएको घटनालाई स्मरण गर्दै भने,’सिंहदरबार, संसद् भवन जले । सर्वोच्च अदालत जल्यो । निजी सम्पत्ति जले, व्यक्तिका घर जले । अब आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्नेछन् । गणतन्त्र र परिवर्तन ल्याउनेहरू जित्नेछन् ।’

संयोजक प्रचण्डले बंगलादेशमा हालै सम्पन्न निर्वाचन परिणामलाई उदाहरण दिँदै नेपालले पनि त्यहीँबाट पाठ सिक्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार बंगलादेशमा चुनावको समयमा आगजनी गर्नेहरू नै जित्ने हल्ला भए पनि अन्ततः उनीहरू पराजित भएका थिए।

संयोजक प्रचण्डले भने – ‘बंगलादेशमा पनि आगो लगाइयो । चुनावमा आगो लगाउनेहरू नै जित्छन् भनिन्थ्यो, तर उनीहरू हारे । नजलाउने र स्थिरता चाहनेहरू जिते,’ उनले भने। उनले सामाजिक सञ्जालमा लोकप्रियता देखाएर राजनीति गर्न खोज्नेहरूप्रति पनि कटाक्ष गर्दै भने,’सामाजिक सञ्जालमा ७५ लाख फलोअर्स भएका भनिएका व्यक्तिहरू तेस्रो भए । यहाँ पनि हल्लाखोरहरूको हिसाब जनताले गरेर बसेका छन् ।’

तपाईको बिचार