काठमाडाैं । अमेरिकामा शुक्रबार भएको नाटकीय घटनाक्रमको असर सीधै विश्व बजार हुँदै सर्वसाधारणको खल्तीमा परेको छ। अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डाेनाल्ड ट्रम्पले लागू गरेका पुराना ट्यारिफहरू अवैध ठहर गर्दै खारेज गरिदिएको छ। यस निर्णयले राष्ट्रपति ट्रम्पलाई राजनीतिक रूपमा ठूलो धक्का लागेको मानिएको छ।
तर घटनाक्रम त्यत्तिमै सीमित रहेन। अदालतको निर्णयपछि प्रतिक्रिया जनाउँदै ट्रम्पले विश्वभरका आयातमा १० प्रतिशत ‘ग्लोबल ट्यारिफ’ लगाउने घोषणा गरेका छन्। यसले अन्तर्राष्ट्रिय व्यापार क्षेत्रमा पुनः अनिश्चितता बढाएको छ।
यसैबीच, अमेरिकाको कमजोर आर्थिक वृद्धिदर सार्वजनिक भएपछि लगानीकर्ता थप सतर्क बनेका छन्। चौथो त्रैमासमा अमेरिकी आर्थिक वृद्धि घटेर १.४ प्रतिशतमा सीमित भएको तथ्यांक सार्वजनिक भएको छ।
राजनीतिक अन्योल र कमजोर आर्थिक सूचकांकका कारण लगानीकर्ताहरू सुरक्षित लगानीको विकल्प खोज्दै सुनतर्फ आकर्षित भएका छन्।
इरान अमेरिकाबीच भैरहेको जेनेभा वार्ता असफलतातिर उन्मूख हुँदै गर्दा सुनको मुल्यमा अन्तर्राष्ट्रिय बजारमा ऐतिहासिक उछाल आउने सम्भावना फेरी पनि बढेको छ । गत महिना ३ लाख ३९ हजार प्रति तोला पुगेको सुनको मूल्य गत हप्ता केहि घटेपनि अब फेरी दोहोरिने छ ।
वैश्विक बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। स्पट गोल्ड १.५ प्रतिशतले बढेर प्रतिऔंस ५,१०७ अमेरिकी डलर पुगेको छ। त्यस्तै, चाँदीकाे भाउ पनि प्रतिऔंस ८४ डलर पुगेकाे छ ।
विश्लेषकहरूका अनुसार आर्थिक अनिश्चितता बढ्दा लगानीकर्ताहरू सुरक्षित सम्पत्तिको रूपमा सुन रोज्ने प्रवृत्ति बढ्छ, जसका कारण मूल्यमा तीव्र उछाल देखिएको हो।
आज शनिबार भएकाले नेपाल सुनचाँदी व्यवसायी महासंघकाे कार्यालय बन्द छ। तर शुक्रबारसम्म सुनकाे मूल्य प्रतिताेला ३ लाख ४ हजार ७ सय रुपैयाँ थियाे भने चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ थियाे ।
बढ्दो अन्तर्राष्ट्रिय तनाव र आर्थिक अनिश्चितताले सुनको मूल्य अझै बढ्न सक्ने आकलन गरिएको छ।
तपाईको बिचार