चीन र भारतको बिचमा छौँ, ठूलो कुरा गरेर हुँदैन : सभापति थापा - MirrorNepal.com

चीन र भारतको बिचमा छौँ, ठूलो कुरा गरेर हुँदैन : सभापति थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको भू–राजनीतिक अवस्थालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका छन् । शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले आन्तरिक असन्तुष्टिदेखि भू–कुटनीतिक सन्तुलन मिलाएर अघि बढ्नुपर्ने नेपालको अवस्था रहेको बताए ।

आन्तरिक र कुटनीतिक सन्तुलनलाई मिलाएर देशलाई अघि बढाउन सक्ने शक्ति कांग्रेस भएको दाबी गर्दै उनले भने, ‘बढो गाह्रो गरेर संविधान बनाइएको छ, बढो जोखिमपूर्ण अवस्थामा नेपाल छँदै थियो, भारत र चीनका बिचमा छौँ, चर्को कुराले मात्रै हुँदैन, सबैलाई मिलाएर लिएर जानु पर्नेछ। जातजाति, भाषाभाषी, हिमाल, पहाड, तराईलाई जोड्नुपर्ने छ, छरछिमेकीको बिचमा पनि सन्तुलन मिलाउनुपर्नेछ, त्यो सन्तुलन मिलाएर लैजाने शक्ति नेपाली कांग्रेस मात्रै हो । त्यसैले अर्को कुनै प्रयोग नगरौं । ५ वर्ष खेर फाल्नु हुँदैन ।’

सिस्टम बनाएर निमसंगत ढङ्गबाट गतिकासाथ काम गर्नको लागि आफूले ७ वर्षदेखि प्रोजेक्ट गभर्मेन्टको काम गर्दै आएको बताउँदै भने, ‘हामीले दिनरात ७ वर्ष काम गरेका छौँ। प्रोजेक्ट गभर्मेन्ट हामीले दिनरात काम गरेर किसानलाई समयमा मल पुर्‍याउनेदेखि पहाडको बाँदर कसरी खेद्ने भन्ने सम्मको काम टीम बनाएर गरिरहेका छौँ। बल्ला काम गर्ने ठाउँमा जाने मौका पाएका छौँ।’

कांग्रेसले आज तीन जिल्लामा आमसभा गर्ने र कार्यक्रममा गगन-विश्वप्रकाशले सम्बोधन गर्ने भएका छन्। कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज तीन जिल्लामा चुनावी आमसभाको आयोजना गरेको छ । पार्टीका अनुसार अहिले बिहान ११ बजे रूपन्देहीको बुटवल, दिउँसो १ बजे बागलुङ बजार र दिउँसो ३ बजे कास्की पोखराको अमरसिंहचौरमा चुनावी सभाको आयोजना गरिएको हो ।

तीनवटै आमसभालाई पार्टीका सभापति गगनकुमार थापा तथा उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्दैछन् । पोखराको अमरसिंहचौरमा हुने आमसभामा प्रदेशभित्रका १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसहित नेता तथा कार्यकर्ता सहभागी हुने नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी गराएका छन् । आमसभामार्फत बदलिएको कांग्रेसको स्पष्ट विचार,नीति,कार्यशैली तथा आगामी योजनाबारे जनतालाई प्रत्यक्ष सन्देश दिइने प्रवक्ता सिग्देलले बताए ।

 

तपाईको बिचार