काठमाडाैं । इरानका विदेशमन्त्री अब्बास अरघचीले विश्वको महत्वपूर्ण समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्णरूपमा बन्द नभएको बताएका छन्। उनका अनुसार ओमानको खाडी र फारसको खाडीबीच पर्ने उक्त मार्ग अमेरिका र इजरायलका जहाजका लागि मात्र रोक लगाइएको हो ।
अरघचीका अनुसार अमेरिका र इजरायल बाहेक अन्य देशका जहाजलाई भने आउजाउ गर्न अनुमति दिइएको छ।
एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘स्ट्रेट अफ होर्मुज खुला छ । तर जुन देशले इरानमाथि हमला गरिरहेका छन् वा इरानका दुश्मन हुन्, ती देशका जहाजलाई रोक लगाइने छ । बाँकी देशका जहाज सामान्य रुपमा आउजाउ गर्न सक्नेछन् ।’
यद्यपि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टअनुसार उक्त मार्गको अवस्था सामान्य छैन। सम्भावित आक्रमणको त्रासका कारण सयौं जहाज रोकिएका छन्। यसका कारण विश्वभर इन्धन आपूर्तिमा असर परेको बताइएको छ। सुरक्षाका कारण केही जहाजले उक्त मार्ग प्रयोग नगर्ने निर्णय समेत गरेका छन्।
अरघचीले पनि सुरक्षा चिन्ताका कारण धेरै जहाज कम्पनीहरूले मार्ग प्रयोग गर्न नचाहेको स्वीकार गरेका छन्। उनका अनुसार यो निर्णय जहाज सञ्चालन गर्ने कम्पनीहरूको हो र यसको प्रत्यक्ष सम्बन्ध इरानसँग छैन। उनले केही तेल ट्यांकर र अन्य जहाज भने अझै पनि होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गरिरहेको बताएका छन्।
भारतको विदेश मन्त्रालयका प्रवक्ताले पनि तेल र ग्यास बोकेका दुईवटा जहाज भारततर्फ आउँदै गरेको जानकारी दिएका छन्।
इन्धन ढुवानीमा अवरोध गरेको आरोप लगाउँदै अमेरिकाले इरानको प्रमुख तेल भण्डारण क्षेत्र खार्ग द्वीपमा आक्रमण गरेको छ। मध्यपूर्वकै ठूलो तेल भण्डारण क्षेत्र मानिने खार्ग द्वीपमा आक्रमण भएपछि युएईको फुजायरा बन्दरगाहमा ड्रोन आक्रमण भएको रिपोर्टहरू सार्वजनिक भएका छन्।
स्ट्रेट अफ होर्मुज विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो। इरान र ओमानबीच पर्ने यस जलडमरूमध्यको सबैभन्दा साँघुरो भाग करिब ३३ किलोमिटर चौडा छ भने जहाज आवतजावत गर्न मिल्ने मार्ग करिब ११ किलोमिटर मात्र रहेको छ। विश्वमा दैनिक आपूर्ति हुने करिब २० प्रतिशत तेल यही मार्ग हुँदै ढुवानी हुने भएकाले यहाँ अवरोध हुँदा अन्तर्राष्ट्रिय तेल बजार र विश्व अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने गर्छ।
यसैबीच अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पले समुद्री मार्ग खुला राख्न विभिन्न देशहरूले आफ्ना युद्धपोत पठाउन सक्ने बताएका छन्। उनले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतले पनि जहाज पठाएर व्यापार तथा ऊर्जा आपूर्ति निरन्तर राख्न सहयोग गर्ने अपेक्षा व्यक्त गरेका छन्।
स्विट्जरल्यान्डद्वारा अमेरिकी सेनालाई हवाई क्षेत्र प्रयोग गर्न दिन अस्वीकार
यसैगरी स्विट्जरल्यान्डले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न अमेरिकी सेनाका दुई अनुरोध अस्वीकार गरेको छ। स्विस सरकारले यो निर्णय आफ्नो “तटस्थता कानून” का आधारमा गरिएको जनाएको छ।
सरकारका अनुसार यो कानूनले द्वन्द्वमा संलग्न पक्षलाई सैन्य उद्देश्यका लागि स्विस हवाई क्षेत्र प्रयोग गर्न अनुमति दिन रोक लगाउँछ। यद्यपि स्विस सरकारले तीन अन्य उडानलाई भने अनुमति दिएको जनाएको छ—जसमा एउटा मर्मतसम्बन्धी र दुई वटा यातायातसम्बन्धी उडान थिए। एजेन्सी
तपाईको बिचार