साउथ पार्समा आक्रमणपछि इरानद्वारा खाडी मुलुकमा मिसाइल प्रहार - MirrorNepal.com

साउथ पार्समा आक्रमणपछि इरानद्वारा खाडी मुलुकमा मिसाइल प्रहार


काठमाडौं । विश्वकै ठुलो प्राकृतिक ग्यास क्षेत्र मानिने आफ्नो साउथ पार्स ग्यास फिल्डमा बुधबार इजरायलले हमला गरेपछि इरानले अमेरिकासँग सम्बन्धित तेल र ग्यास रिफाइनरीलाई लक्ष्य गरी मध्यपूर्वका देशहरूमा रातभर आक्रमण गरेको छ।

साउदी अरेबियाले बुधबार रातभर इरानले आक्रमण गरेको बताएको छ। साउदी रक्षा मन्त्रालयले राजधानी रियाद र देशका पूर्वी क्षेत्रमा १७ ड्रोन र दुई ब्यालिस्टिक मिसाइल खसालेको बताएको छ।

यस्तै साउथ पार्स ग्यास फिल्डमा गरिएको हमलाको बदलामा बुधबारै कतारको रास लाफान ऊर्जा परिसरमा क्षेप्यास्त्र हानेको इरानले फेरि बिहीबार बिहान पनि आक्रमण गरेको छ।

कतारले आक्रमणले ग्यासमा क्षति पुर्‍याएको बताएको छ, तर कोही घाइते भएका छैनन्।  उता संयुक्त अरब इमिरेट्सले पनि बिहीबार बिहान आफ्नो वायु रक्षा प्रणालीले ब्यालिस्टिक मिसाइल तथा लडाकु विमानले ड्रोन रोकेको बताएको छ।

बहराइनले पनि रातभरमा तीन चेतावनी जारी गर्दै नागरिकहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।

यस्तै कुवेती सेनाले विज्ञप्ति जारी गर्दै ‘शत्रुको मिसाइल र ड्रोन आक्रमण’को सामना गरिरहेको बताएको छ।

आक्रमणको बदलामा  कतारले इरानी राजदूतलाई देश निकाला गरेको छ । कतारको रास लाफान औद्योगिक क्षेत्रमा भएको इरानी मिसाइल आक्रमणबाट व्यापक क्षति भएपछि कतारले इरानी राजदूतलाई देशनिकाला गरेको हो ।

कतारको एक प्रमुख तेल प्रशोधन क्षेत्रमा इरानले मिसाइल आक्रमण गरेको हो ।

इजरायली आक्रमणबाट इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रका सुविधाहरूमा क्षति पुगेको छ । इरानले निर्णायक कारबाही गर्ने चेतावनी दिँदै जारी गरेको सूचीमा रास लाफान पनि समावेश थियो ।

“आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिन आपतकालीन प्रतिक्रिया टोलीहरू तुरुन्तै परिचालन गरिएको थियो, किनकि त्यहाँ व्यापक क्षति भएको छ,” कतार इनर्जीले सामाजिक सञ्जालमा लेखेको छ ।

विज्ञप्तिमा सबै कर्मचारीहरू सम्पर्कमा रहेको र हालसम्म कुनै मानवीय क्षतिको खबर नभएको जनाइएको छ । एजेन्सी

तपाईको बिचार