रूसी सेनाको विमान दुर्घटना हुँदा ३० जनाको मृत्यु - MirrorNepal.com

रूसी सेनाको विमान दुर्घटना हुँदा ३० जनाको मृत्यु


  • Mirror Nepal १७ चैत २०८२, बुधबार १७:०४:०८

काठमाडौं। रूसी सेनाको विमान दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ। मंगलबार स्थानीय समयअनुसार साँझ ६ बजे रूसी सेनाको एएन-२६ कार्गो विमान दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको रूसी समाचार संस्था तासले जनाएको छ।

उक्त विमान विवादित क्षेत्र क्राइमियाको आकाशमा उडिरहँदा सेनासँग सम्पर्कविच्छेद भएको थियो। त्यसपछि खोज तथा उद्धार टोलीले केही समयपछि दुर्घटनास्थल पत्ता लगाएको थियो।

प्रारम्भिक जानकारीअनुसार विमान पहाडको चट्टानमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो। घटनामा कुनै पनि व्यक्ति जीवित फेला नपरेको स्रोतलाई उद्धृत गरेर तासले लेखेको छ।

विमानमा ७ जना चालक दलका सदस्य र २३ यात्रु थिए। कार्गो विमानमा सैनिक, कर्मचारी, प्राविधिक, कहिलेकाहीँ सरकारकी कर्मचारी सवार हुन्छन्। मंगलबारको दुर्घटनामा मारिनेहरू को थिए भनेर चाहिँ खुलाइएको छैन।

दुर्घटनाको प्रारम्भिक कारण प्राविधिक खराबी रहेको अनुमान गरिएको छ। रूसी रक्षा मन्त्रालयले अनुसन्धान सुरू भएको जनाएको छ। विमानमा कुनै बाह्य आक्रमण वा हस्तक्षेप नभएको विश्वास गरिएको पनि मन्त्रालयको भनाइ छ।

एएन–२६ सोभियतकालीन डिजाइनमा आधारित सैन्य यातायात टर्बोप्रप विमान हो, जुन विभिन्न सैन्य र लजिस्टिक प्रयोजनका लागि प्रयोग हुँदै आएको छ। एजेन्सी

तपाईको बिचार