पाकिस्तानको हमलामा अफगानिस्तानमा २९ जनाको मृत्यु - MirrorNepal.com

पाकिस्तानको हमलामा अफगानिस्तानमा २९ जनाको मृत्यु


काठमाडौं। पाकिस्तान र अफगानिस्तानबीचको सीमावर्ती क्षेत्रमा भएको पछिल्लो सैन्य कारबाहीले दुई छिमेकी राष्ट्रबीचको तनावलाई पुनः उत्कर्षमा पुर्‍याएको छ। पाकिस्तानले डुरान्ड रेखानजिकै ‘जमात-उल-अहरार’ र ‘तहरिक-ए-तालिबान पाकिस्तान’ (टीटीपी) विरुद्ध लक्षित कारबाही गरी २९ जना आतंककारीहरूलाई मारेको दाबी गरेको छ।

पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तरारले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा योजनाबद्ध स्थलगत र हवाई कारबाही गरिएको जानकारी दिएका छन्।

मन्त्री तरारका अनुसार, खैबर पख्तुनख्वाको बाजौरमा गरिएको स्थलगत कारबाहीमा आतंकवादी कमान्डर खान फ्रोस (जबाल) सहित जमात-उल-अहरारका चार लडाकुहरू मारिएका छन्। पाकिस्तानले यो कारबाही आफ्नो देशमा भइरहेका आतंकवादी गतिविधि नियन्त्रण गर्नका लागि अनिवार्य रहेको जिकिर गरेको छ।

पाकिस्तानको हवाई आक्रमणमा परी अफगानिस्तानको पक्तिया प्रान्तमा क्षति पुगेको एउटा भवनको अवशेषलाई हेर्दै स्थानीय बासिन्दाहरू।

यद्यपि, अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानको यो दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाको आक्रमण पूर्णतः सर्वसाधारणलक्षित भएको आरोप लगाएका छन्।

उनले हवाई आक्रमण अफगानिस्तानको कुनार, पक्तिया र पक्तिका प्रान्तका विभिन्न जिल्लामा भएको र यस घटनामा महिला तथा बालबालिकासहित दर्जनौँ निर्दोष नागरिकको ज्यान गएको बताएका छन्। विशेषगरी पक्तिया प्रान्तको मन्डिखेल गाउँमा सबैभन्दा बढी क्षति भएको बताइएको छ।

तालिबान प्रवक्ता मुजाहिदले यस घटनाको कडा शब्दमा निन्दा गर्दै यसलाई ‘कायरतापूर्ण’ र अन्तर्राष्ट्रिय नियमविपरीतको कार्य भनेका छन्। लामो समयदेखि जारी सीमा विवाद र टीटीपीका गतिविधिका कारण दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ। यो पछिल्लो घटनाले क्षेत्रीय सुरक्षा र सीमा क्षेत्रको स्थिरतालाई थप चुनौतीपूर्ण बनाएको छ। एजेन्सी

तपाईको बिचार