काठमाडौं। मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत भएका छन्। खाडी क्षेत्रमा लगातार चार दिनदेखि जारी भीषण आक्रमण र प्रत्याक्रमणपछि स्थिति थप भयावह हुन नदिन दुवै पक्षबिच यो आकस्मिक सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएकाे छ।
यो सहमतिसँगै विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग मानिने ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमा व्यापारिक जहाजहरूको आवागमन पुनः सुचारु हुने भएको छ। अमेरिकी अधिकारीहरूका अनुसार दुवै देशबिच गत जुन १७ मा भएको १४ बुँदे प्रारम्भिक शान्ति सम्झौता संकटमा परेपछि, स्थिति नियन्त्रण बाहिर जान नदिन यो आकस्मिक सहमति गरिएको हो। दुई देशबिचको यो गम्भीर गतिरोधलाई कूटनीतिक माध्यमबाट सुल्झाउन भोलि मंगलबार कतारको राजधानी दोहामा उच्चस्तरीय वार्ता पुनः सुरु हुने भएको छ।
यसअघि स्विट्जरल्याण्डमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसदका सभामुख मोहम्मद बाकर कलिबाफबिच भएको वार्ता र प्रतिबन्ध फुकुवाको प्रयासका बाबजुद पनि खाडीमा पुनः युद्ध चर्किएको थियो।
आइतबार बिहान इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ ले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी मिसाइल र ड्रोन प्रहार गरेको थियो।
बहराइनको मुहरराक प्रान्तमा इरानी ड्रोनका कारण एउटा आवासीय भवनमा क्षति पुगेको छ। कुवेतले दुईवटा ब्यालिस्टिक मिसाइल आकासमै निष्क्रिय पारेको जनाएको छ। अमेरिकी अधिकारीहरूका अनुसार आफ्ना सैन्य अखडामा कुनै ठुलो क्षति वा मानवीय क्षति भने भएको छैन। तर, सैन्य अपरेसनका क्रममा छर्रा लागेर एक कतारी नागरिकको मृत्यु भएको छ।
यो आक्रमण हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिँदै इरानले सम्झौता पालना नगरे ‘इरानको अस्तित्व नै मेटिन सक्ने’र अमेरिकाले सैन्य बलमा काम तमाम गर्ने धम्की दिएका थिए।
क्षेत्रीय तनावमा इजरायलस् यसैबिच, इजरायलले पनि लेबनानको दक्षिणी क्षेत्रमा इरान समर्थित सशस्त्र समूह हिज्बुल्लाहको भूमिगत संरचनाहरूमा पुनः हवाई आक्रमण गरेको छ। इरानले लेबनानमा जारी लडाइँ नरोकिए अमेरिकासँगको सम्झौता टिक्न नसक्ने अडान राखेको छ।
गत फेब्रुअरी २८ देखि सुरु भएको यो युद्धलाई कम गर्न र ‘स्ट्रेट अफ हर्मुज’ खुला गर्न जुन १७ मा १४ बुँदे सम्झौता भएको थियो। तर दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाएपछि स्थिति पुनः तनावग्रस्त बनेको हो। भोलि कतारमा हुने वार्तालाई मध्यपूर्वमा सम्भावित ठुलो युद्ध टार्ने अन्तिम कूटनीतिक प्रयासको रूपमा हेरिएको छ। एजेन्सी
तपाईको बिचार