काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि समारोहमा राजधानी तेहरानमा लाखौँ मानिस सहभागी भएका छन्। इरानी सञ्चारमाध्यमहरूका अनुसार छ दिनसम्म सञ्चालन हुने अन्त्येष्टि कार्यक्रमको पहिलो दिन शनिबार बिहानैदेखि श्रद्धाञ्जली अर्पण गर्न सर्वसाधारण तेहरानस्थित इमाम खुमेनी ग्रान्ड मुसल्ला मस्जिदमा भेला भएका हुन्।
समारोहमा फेब्रुअरी २८ को आक्रमणमा मारिएका खामेनी तथा उनका परिवारका सदस्यहरूको ताबुत इरानी राष्ट्रिय झन्डाले ढाकेर मञ्चमा राखिएको थियो। श्रद्धाञ्जलीका क्रममा उपस्थित भीड भावुक बनेको र केही समूहले अमेरिका तथा इजरायलविरुद्ध नाराबाजी गर्दै बदलाको माग गरेका पोस्टर प्रदर्शन गरेको जनाइएको छ।
इरानी अधिकारीहरूले अन्त्येष्टि अवधिभर करिब १ करोड ५० लाखदेखि २ करोडसम्म मानिस सहभागी हुन सक्ने अनुमान गरेका छन्। सार्वजनिक कार्यतालिकाअनुसार जुलाई ६ मा तेहरानबाट सुरु हुने अन्तिम यात्रा जुलाई ७ मा कोम, जुलाई ८ मा इराकका नजफ र कर्बला हुँदै जुलाई ९ मा मशहदस्थित इमाम रजा दरगाह परिसरमा पुगेर राजकीय सम्मानका साथ समाधिस्थ गरिने छ।
यसबीच इरानले अमेरिकासँग जारी अप्रत्यक्ष वार्ता तत्कालका लागि स्थगित गरेको जनाएको छ। साथै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई फोर्डो, नतान्ज र इस्फहानस्थित प्रमुख आणविक केन्द्रहरूको निरीक्षण गर्न अनुमति नदिने निर्णयसमेत सार्वजनिक गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मानवीय आधारमा इरानलाई अन्त्येष्टि सम्पन्न गर्न एक साताको समय दिइएको दाबी गर्दै त्यसपछि इरानले अमेरिकी सर्तहरू स्वीकार गर्नुपर्ने बताएका छन्।
खामेनीको मृत्युपछि इरानको सुरक्षा तथा सैन्य रणनीतिमा परिवर्तन आउने संकेत देखिएको विश्लेषकहरूको भनाइ छ। नयाँ नेतृत्वले क्षेत्रीय नीतिमा थप कडा रणनीति अपनाउने सम्भावना रहेको र होर्मुज जलडमरूमध्यलाई रणनीतिक दबाबको माध्यमका रूपमा प्रयोग गर्न सक्ने आकलन गरिएको छ। एजेन्सी
तपाईको बिचार