काठमाडौं । इरानसँग पाँच महिनादेखि जारी युद्धका क्रममा अमेरिकाले आफ्ना सबैभन्दा शक्तिशाली तथा लामो दूरीका अत्याधुनिक मिसाइलहरू लगभग सकिएको अवस्था पुगेको खुलासा भएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी सेनाको विश्वव्यापी मिसाइल भण्डार तीव्र रूपमा घटेपछि भविष्यमा अर्को ठूलो युद्ध वा संकट सामना गर्ने क्षमतामाथि नै प्रश्न उठ्न थालेको छ ।
रोयटर्सले अमेरिकी सैन्य तथ्यांकबारे जानकारी राख्ने तीन स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार अमेरिकी सेनाले प्रयोग गर्ने आर्मी ट्याक्टिकल मिसाइल सिस्टम र नयाँ पुस्ताको प्रिसिजन स्ट्राइक मिसाइल मध्ये ‘लगभग सबै’ प्रयोग भइसकेका छन् ।
यी दुवै मिसाइल एक–एक करोडं रुपैयाँ बराबर मूल्य पर्ने अत्यन्तै सटीक लामो दूरीका हतियार हुन्, जसले सुरक्षित दूरीबाट शत्रुको लक्ष्य ध्वस्त पार्न सक्छन् । विशेषगरी युक्रेन युद्धमा पनि अमेरिकाले उपलब्ध गराएका मिसाइलले रूसभित्र रहेका लक्ष्यमा आक्रमण गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
युद्ध लम्बिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानमाथि ठूलो सैन्य कारबाही गर्न चाहे पनि पहिलेजस्तो मिसाइल प्रयोग गर्न कठिन हुन सक्ने विश्लेषण गरिएको छ । त्यस अवस्थामा अमेरिकाले जोखिमपूर्ण मानिने मानवसहितका बमवर्षक विमान प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ ।
तीन स्रोतका अनुसार मिसाइल भण्डार तीव्र रूपमा घटेपछि अमेरिका भविष्यमा रूस वा चीनजस्ता शक्तिशाली प्रतिद्वन्द्वीलाई रोक्न सक्ने सैन्य तयारी कमजोर हुने चिन्तासमेत बढेको छ ।
यद्यपि एक अमेरिकी अधिकारीले भने विश्वभर रहेका अमेरिकी सैन्य भण्डारबाट आवश्यक मिसाइल पुनः आपूर्ति भइरहेको दाबी गरेका छन् । उनका अनुसार मध्यपूर्वमा रहेका अमेरिकी सेनाले अन्य क्षेत्रबाट हतियार ल्याएर आफ्नो क्षमता कायम राखिरहेको छ ।
यस विषयमा प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले अमेरिका विश्वकै सबैभन्दा धेरै हतियार भएको देश रहेको दाबी गरेका छन् । उनले भने, ‘हामीसँग आवश्यकभन्दा धेरै हतियार छन् । रक्षा उद्योगहरूले इतिहासमै सबैभन्दा तीव्र गतिमा नयाँ हतियार उत्पादन गरिरहेका छन् ।’
तर सैन्य विश्लेषकहरू भने लामो समयसम्म युद्ध जारी रहेमा हालको उत्पादन दरले पनि आवश्यक माग पूरा गर्न कठिन हुने चेतावनी दिइरहेका छन् ।
रिपोर्टअनुसार अमेरिकाका रक्षात्मक हतियारहरूको अवस्था पनि चिन्ताजनक बन्दै गएको छ ।
स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडिजको हालैको अध्ययनले फेब्रुअरीदेखि जुलाईसम्ममा अमेरिकाले आफ्ना ६५ प्रतिशत प्याट्रियट मिसाइल इन्टरसेप्टर प्रयोग गरिसकेको अनुमान गरेको छ । त्यस्तै थाड प्रणालीका करिब ३८ प्रतिशत इन्टरसेप्टर पनि खर्च भइसकेका छन् ।
यसबाहेक, अमेरिकी नौसेनाले प्रयोग गर्ने टोमहक क्रुज मिसाइलको विश्वव्यापी भण्डारको करिब आधा पनि इरान युद्धकै क्रममा प्रयोग भएको एक स्रोतले जनाएको छ । यद्यपि रोयटर्सले उक्त तथ्य स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।
यही कारण पछिल्ला दिनमा अमेरिकी प्रशासनभित्र इरानमाथि थप ठूलो आक्रमण गर्ने कि नगर्ने भन्ने विषयमा गम्भीर छलफल भइरहेको बताइएको छ । केही अमेरिकी अधिकारीहरूका अनुसार अहिलेको हतियार भण्डारलाई ध्यानमा राख्दै भविष्यका सम्भावित युद्धका लागि पर्याप्त तयारी कायम राख्नु आवश्यक भएकाले नयाँ ठूलो सैन्य अभियानबारे सतर्कता अपनाइएको हो । एजेन्सी
तपाईको बिचार