दुग्ध उत्पादक किसान मञ्च नेपालद्वारा सरकारलाई खुला निवेदन - MirrorNepal.com

दुग्ध उत्पादक किसान मञ्च नेपालद्वारा सरकारलाई खुला निवेदन


काठमाडौं । दुग्ध उत्पादक किसान मञ्च, नेपालले हालसालै सरकारलाई खुला निवेदन जारी गर्दै आत्मनिर्भर कृषि उत्पादन र किसानको हितका पक्षमा ठोस कदम चाल्न आग्रह गरेको छ।

मञ्चले शनिबार काठमाडौंमा जारी गरेको निवेदनमा हालसालै भएका राजनीतिक परिवर्तन र नयाँ पुस्ताको आन्दोलनलाई ऐतिहासिक भन्दै त्यसबाट मुलुकले नयाँ आशा, विश्वास र सम्भावना बोकेको जनाएको छ। मञ्चले नयाँ सरकारसँग किसान र कृषिप्रति सकारात्मक दृष्टिकोण राखी व्यवहारिक कार्यक्रम ल्याउन माग गरेको छ।

निवेदनमा भनिएको छ, “कृषिप्रधान देश नेपाललाई आत्मनिर्भर बनाउन उत्पादनमुखी कार्यक्रम आवश्यक छ। कृषिलाई उपेक्षा गर्दा खाद्यान्न, दूध, मासु, तरकारी आयातमा निर्भर हुनुपरेको छ। यसलाई अन्त्य गर्न किसानमित्र नीति र दीर्घकालीन कार्यक्रम ल्याउन जरुरी छ।”

मञ्चले विगतमा सरकारका विभिन्न पहलमा किसान सहभागी भएर आत्मनिर्भरता अभियानलाई अघि बढाएको स्मरण गर्दै आगामी दिनमा पनि किसानहरूको सक्रिय सहभागिता रहने उल्लेख गरेको छ। साथै, आत्मनिर्भर नेपाल निर्माणमा कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उत्पादनमै आधारित कार्यक्रम ल्याउन आग्रह गरेको छ।

निवेदनमा हालै बनेको नयाँ सरकारलाई बधाई ज्ञापन गर्दै किसान, गाउँ–गाउँमा रहेका कृषक समुदाय, दुग्ध व्यवसायी र श्रमिकहरूको आवाजलाई सुन्न आग्रह गरिएको छ।

दुग्ध उत्पादक किसान मञ्चका सचिव इश्वर वाग्मीले हस्ताक्षर गरेको उक्त निवेदनमा “आत्मनिर्भर नेपाल निर्माणमा किसानहरूको ऐतिहासिक योगदानलाई मान्यता दिँदै, कृषि क्षेत्रमा अनुभवी, किसानमैत्री र पेशागत व्यक्तित्वलाई नेतृत्वमा जिम्मेवारी दिनु समयको आवश्यकता हो” भन्ने निष्कर्ष राखिएको छ।

तपाईको बिचार