काठमाडौं । सगरमाथाको तिब्बती भागमा आएको भीषण हिमआँधीका कारण सयौँ पदयात्रीहरू फसेका छन्। चिनियाँ सञ्चारमाध्यमका अनुसार उद्धारकर्ताहरूले करिब ३५० जनालाई सुरक्षित स्थानमा पुर्याइसकेका छन् भने अझै २०० भन्दा बढी पदयात्री फसेका छन्।
अधिकारीहरूले बाँकी पदयात्रीहरूसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छन्। उद्धार भएका एक पदयात्रीले आफू जीवन र मृत्युको सङ्घर्षबाट जोगिएको अनुभव सुनाउँदै भने, “म यस्तो अवस्थाबाट बाँचेर निस्कन पाउँदा साँच्चिकै भाग्यशाली महसुस गरिरहेको छु।”
चीनमा आठ दिन लामो राष्ट्रिय बिदाको अवसर पारेर सगरमाथाको पूर्वी भागतर्फ पर्ने तिब्बती उपत्यकामा यात्रुहरूको भीड बढेको थियो। यत्तिकैमा शुक्रबार साँझदेखि परेको भीषण हिमपात र हुरीका कारण सयौँ पर्यटक फसेका हुन्। एक शिविरमा रहेका यात्रुले भने, “हरेक १० मिनेटमा टेन्टको अगाडि जमेको हिउँ हटाउनुपर्थ्यो।” एक गाइडले असामान्य रूपमा यसपटक हिमपात अत्यधिक भएको बताए।
यो घटनाको केही दिन अघि नेपालमा समेत अप्रत्याशित मौसम परिवर्तनले मुसलधारे वर्षा गराउँदा बाढि र पहिरोमा परि देशभर ५० भन्दा बढी मानिसको मृत्यु भएको थियो।
चिनियाँ सञ्चारमाध्यमका अनुसार आइतबारसम्म ३५० भन्दा बढी पदयात्रीहरू क्वुडाङ नामक सानो गाउँमा पु-याइएका छन्। बाँकी २०० भन्दा बढी पदयात्रीहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ।
१८ सदस्यीय टोलीकी पदयात्री चेन गेश्वाङले भनिन्, “पहाडमा अत्यधिक चिसो र हिमपातका कारण सबै हाइपोथर्मियाको वास्तविक जोखिममा थियौँ। तर हामी हाम्रो टोलीसहित सुरक्षित स्थान अर्थात क्वुडाङ पुग्न सफल भयौं।”
करिब ४,२०० मिटर (१३,८०० फिट) उचाइमा रहेको उपत्यकामा शुक्रबार साँझदेखि लगातार हिमपात भएको र शनिबारभरि जारी रहेको रिपोर्ट गरिएको छ। सीसीटीभीका अनुसार बाँकी पदयात्रीहरूलाई स्थानीय सरकारको समन्वयमा उद्धार टोलीले क्रमिक रूपमा सुरक्षित स्थानतर्फ लैजाने प्रयास भइरहेको छ। -सीसीटीभी
तपाईको बिचार