काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार पनि सेयर बजार घटेको छ । लगातार तीन कारोबार दिनदेखि घटिरहेको बजार चौथो दिन पनि घटेको हो ।बिहीबार १७.०१ अंकले घट्दै बजार २७८७.१५ को बिन्दुमा ओर्लिएको छ ।
दोहोरो अंकले बजार घट्दै गर्दा कारोबार रकम पनि उच्च दरले नै खुम्चिएको छ । १ करोड १३ लाख ७५ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँमाथिको भयो । बिहीबारको कारोबार रकम ३५ कारोबार दिनयताकै कम हो ।
बिहीबार अधिकांश समूहको सूचक घटेको छ । कारोबारमा आएका २१६ कम्पनीको मूल्य घट्दा ४६ कम्पनीको मात्रै मूल्य बढेको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
शिखर पावर र पाल्पा सिमेन्टको मूल्य १५ प्रतिशत हाराहारीमा वृद्धि हुँदा सूर्यकुण्ड हाइड्रोको मूल्य ११.७९ प्रतिशतले घट्यो । बजार केही सातादेखि नै घटिरहेको थियो । मुख्यगरी केही सेयर बजार क्षेत्रका व्यवसायीको पक्राउ र सेयर बजारसम्बन्धी नीति परिवर्तनसँगै बजारमा निराशा छाएको हो ।
योबिचमा दीपक भट्टसहित केही सेयर बजारसँग जोडिएका व्यक्तिहरू पक्राउ परेका छन् भने धितोपत्र बोर्डको छानबिन प्रतिवेदनसँगै थप केही पक्राउ पर्ने सम्भावना बढेको छ ।
सँगै, ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था नेप्सले सोमबारदेखि कार्यान्वयनमा ल्याएको थियो । नयाँ व्यवस्थाअनुसार सूचीकृत कम्पनीहरूको मूल्य सीमा १५ प्रतिशत पुर्याइएको छ ।
अन्तर्राष्ट्रिय अभ्यास र नेपाली पुँजी बजारमा बढ्दो लगानीकर्ताको संख्यालाई ध्यानमा राख्दै सीमामा परिवर्तन गरिएको बताइए पनि लगानीकर्ताले भने यो व्यवस्थालाई रुचाएका छैनन् । जसको प्रतिफल बजार निरन्तरजसो ओरालोमा देखिएको छ ।
पछिल्लो ४ कारोबार दिनमा मात्रै बजारमा ५१.२५ अंकले गिरावट आएको छ । सँगै, योबिचमा कारोबार रकम पनि दोहोरो अंकमा हुन सकेको छैन ।
तपाईको बिचार