अमेरिकासँग टकराव बढेसँगै चीनसँग नजिकिँदै क्यानडा - MirrorNepal.com

अमेरिकासँग टकराव बढेसँगै चीनसँग नजिकिँदै क्यानडा


काठमाडौं । अमेरिकासँग तनाव बढिरहेको बेला क्यानडा चीनसँग नजिक हुने कोसिसमा लागेको छ । कुनै समय चीनलाई ठूलो सुरक्षा खतरा मान्ने क्यानडा चीनको नजिक हुन खोज्नु शक्ति सन्तुलनका हिसाबले पनि नयाँ संकेतका रूपमा मानिएको छ ।

संघर्षमा एउटा मान्यता छ, ‘दुस्मनको दुस्मन साथी हुन्छ ।’ अर्थात् कुनै बलियो दुस्मनलाई हराउन कमजोर दुस्मनबीच पनि मित्रता हुन सक्छ । यतिबेला विश्व व्यवस्थामा यस्तै घटनाहरू देखिन थालेका छन् । भेनेजुएला प्रकरणले उत्साहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोमा आबद्ध देशमाथि नै धावा बोल्न सुरु गरेपछि यो संगठन विभाजित मात्रै छैन, अमेरिकी आक्रामकताबाट बच्न रुस र चीनको साथमा आउने क्रमसमेत सुरु भएको छ ।

सन् २०२२ मा युक्रेनमाथि हमला गरेपछि रुससँग दूरी बनाएका युरोपेली देश अब रुससँग वार्ता गर्नुपर्ने पक्षमा उभिइरहँदा क्यानडाका प्रधानमन्त्री पनि चीन आइपुगेका छन् । ट्रम्प यतिबेला कुनै पनि हालतमा ग्रीनल्यान्ड कब्जा गर्ने योजनामा छन् ।

ट्रम्पको यो योजनाका विरुद्धमा रहेका युरोपका ८ देशमाथि १० प्रतिशत भन्सार शुल्क लगाएका छन् । उनले डेनमार्क, नर्वे, स्वीडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड र फिनल्यान्डमाथि ग्रीनल्यान्ड कब्जाको विरोध गरेको भन्दै भन्सार थपेका हुन् । यति मात्रै होइन, उनले ग्रीनल्यान्डबारे कुनै सम्झौता नगरे १ जूनदेखि यो भन्सार बढाएर २५ प्रतिशत बनाउने धम्कीसमेत दिएका छन् ।

यो घटनाले अमेरिकी राष्ट्रपति ट्रम्प कसरी मैमत्त बनेका छन् भन्ने स्पष्ट पार्छ । आज ग्रीनल्यान्ड कब्जा गर्न ट्रम्प जसरी सम्पूर्ण शक्ति लगाइरहेका छन्, यो उनको दोस्रो भेनेजुएला प्रकरण हुन सक्छ । तर, ग्रीनल्यान्ड कब्जा गर्न सफल भए भने त्यसपछि उनको आँखा सिधा रूपमा क्यानडामाथि पर्ने सम्भावना छ ।

क्यानडाले ग्रीनल्यान्डमाथि स्वामित्वको निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नभएको र यसको भविष्य ग्रीनल्यान्ड तथा डेनमार्कले निर्धारण गर्ने बताएको छ । प्रधानमन्त्री मार्क कार्नीले आफूहरू डेनमार्कसँगै नेटोको मित्र भएको र नेटोको विधानको धारा ५ र २ प्रतिको आफूहरूको जिम्मेवारी कायम रहेको बताएका छन् ।

दोस्रो कार्यकालका निर्वाचित भएसँगै ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने भन्दै तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोलाई गभर्नर भनेर सम्बोधन गरेका थिए । उत्तर अमेरिकी महादेशमा पर्ने क्यानडा यो क्षेत्रको सबैभन्दा ठूलो देश हो भने विश्वमा रुसपछिको दोस्रो ठूलो देश पनि हो ।

ग्रीनल्यान्ड पनि भौगोलिक रूपमा उत्तर अमेरिकी क्षेत्रमै छ । यद्यपि, डेनमार्कको स्वायत्त क्षेत्र ग्रीनल्यान्ड राजनीतिक र सांस्कृतिक रूपमा युरोपसँग नजिक छ । ट्रम्पले ग्रीनल्यान्ड प्राप्त गर्नुमा पनि यहाँका खनिज संशाधन मुख्य कारण हुन् । तर, अर्को तथ्य के हो भने यदि अमेरिकाले ग्रीनल्यान्ड कब्जा गर्‍यो भने त्यसपछि उसको सिधा निसाना क्यानडा बन्नेछ ।

क्यानडाको एक छेउमा अहिले पनि अमेरिकाले रुससँग किनेको अलस्का राज्य छ भने अर्को छेउमा ग्रीनल्यान्ड हुनेछ । यो अवस्थामा क्यानडा करिब तीन तिरबाट अमेरिकाले घेरिनेछ ।

ग्रीनल्यान्डमाथिको दाबीसँगै अमेरिकाले एकैपटक दुई काम गर्नेछ । पहिलो उसले युरोपेली संघको शक्ति र दोस्रो अमेरिकाको अनुपस्थितिमा नेटोका बाँकी देशको हैसियत पनि नाप्नेछ । यो भनेको ग्रीनल्यान्ड कब्जा गर्दाको समयमा कुन युरोपेली देश डेनमार्कको पक्षमा लागेर सुरक्षाका लागि आउँछन् भन्ने निश्चित गर्नु पनि हो ।

यदि ग्रीनल्यान्डमाथि कब्जा गर्दा कुनै युरोपेली देशले अमेरिकाको प्रतिवाद गरेनन् र रुस र चीनजस्ता देश मौन बसे भने त्यसको अर्थ हुन्छ, अब विश्वमा साम्राज्य विस्तारको नयाँ युग सुरु भयो र कुनै पनि कमजोर देश जुनसुकै बेला कब्जामा पर्न सक्छन् । ग्रीनल्यान्डपछि क्यानडा अमेरिकाको ५२औँ राज्य बन्न सक्छ । किनकि लामो समयदेखि क्यानडा कब्जा गर्ने दाउमा ट्रम्प रहेका छन् ।

सन् २०२४ मा मात्रै यही क्यानडाले अमेरिकाको समर्थन गर्दै क्यानडा अमेरिकाको पिछलग्गु नभई मित्र भएको भन्दै चीनमाथि विद्युतीय सवारीसहितका वस्तुमा १ सय प्रतिशत भन्सार लगाएको थियो । अमेरिकाले क्यानडाको यही कमजोरीको फाइदा लिँदै अमेरिकाले जे भन्यो त्यही मान्ने देश अलग नभई एउटै हुनुपर्नेमा जोड दिन थाल्यो ।

यतिबेला युरोपेली देशहरू दोहोरो मारमा परेका छन् । एकातिर युक्रेन युद्धलाई लिएर लिएको नीतिका कारण रुससँग व्यापार तथा ऊर्जा आपूर्तिमा आएको समस्याका कारण संकटमा छन् भने अमेरिकाले पनि आफ्नो स्वार्थको पछि खडा नभए भन्सार लगाउने धम्की दिएको छ । युरोपलाई आर्थिक संकटमा पारेसँगै अब अमेरिका उसको सुरक्षा संयन्त्रलाई पनि कमजोर बनाउन चाहन्छ । यदि नेटो विभाजित भएमा वा अमेरिकाको सुरक्षा छाता प्राप्त नगरेमा युरोपेली देश जुनसुकै बेला रुसी निशानामा पर्न सक्ने डर छ ।

रुसले युक्रेनमाथि हमला गरेसँगै अमेरिकाले युरोपसँग सबैभन्दा बढी डरको व्यापार गरिरहेको छ । त्यसैले युरोपेली शक्ति अमेरिकासँगको सम्बन्धमा दरार आएसँगै रुससँग निकटता बढाउन चाहन्छन् । फ्रान्स, जर्मनीजस्ता देश रुससँगको तिक्तता कम गर्ने योजनामा छन् भने ऊर्जाका लागि रुससँग निर्भर स्लोभाकिया र हंगेरी रुससँग सम्बन्ध सुधार गर्नुपर्ने पक्षमा छन् ।

अमेरिकाले क्यानडासँग पनि युरोपसँग जस्तै डरको व्यापार चलाइरहेको छ । त्यसै कारण प्रधानमन्त्री मार्क कार्नी चीन आएर राष्ट्रपति सी चिनफिङसँग छलफल गरेका छन् । योसँगै क्यानडाले चिनियाँ इलेक्ट्रिक गाडीमा लगाएको भन्सार शून्यमा झार्ने सहमति प्रधानमन्त्री कार्नीले गरेका छन्, जसको अमेरिकाले विरोध गरेको छ । क्यानडाले यो निर्णयको मूल्य चुकाउनुपर्ने र पश्चाताप गर्ने दिन आउने धम्की ट्रम्पले दिएका छन् । क्यानडा र चीनबीचको यो सम्झौताले शक्ति संघर्षमा क्यानडा चीनतिर सिफ्ट हुँदै गरेको संकेत दिन्छ ।

क्यानडाको व्यापार करिब ८६ प्रतिशत अमेरिकासँग छ र यसबाट उसले १५० विलियन डलरभन्दा बढी कमाउँदै आएको छ । त्यसैले केन्द्रीय बैंकका पूर्वप्रमुखसमेत रहेका प्रधानमन्त्री कार्नीको चीन भ्रमण र यस क्रममा भएको सम्झौता आफैँमा क्यानडाका लागि ठूलो चुनौती पनि हो । क्यानडाका प्रधानमन्त्रीले पछिल्लो १० वर्षमा चीनको भ्रमण गरेको यो पहिलो अवसर हो ।

गत वर्षको तथ्यांक हेर्ने हो भने चीन र क्यानडाबीच करिब ११८ विलियन डलरको व्यापार हुँदै आएको छ । चीनसँग क्यानडाको झण्डै ५९ विलियन डलरको व्यापारघाटा छ । क्यानडाबाट चीनले कच्चा तेल, कोइला, कृषिजन्य वस्तु, काठ र खनिज पदार्थ आयात गर्छ भने चीनबाट क्यानडाले कम्प्युटर, इलेक्ट्रोनिक पार्ट्स, कार, इलेक्ट्रिक कार, स्टिलदेखि दैनिक उपभोग्य वस्तु लैजाने गर्छ ।

मार्क कार्नीको चीन भ्रमणमा भएको सहमतिअनुसार अब चीनबाट जाने इलेक्ट्रिक कारमा केवल ५ प्रतिशत भन्सार लाग्नेछ । चीनले पनि क्यानडाका सामानमाथि लगाएको भन्सार हटाउनेछ । यसले क्यानडाको बजारमा अब अमेरिका र चिनियाँ सामानको प्रतिस्पर्धा हुनेछ । क्यानडाको बजारमा अहिले अमेरिकाको टेस्लादेखि फोर्डजस्ता कम्पनीको बजार बलियो छ ।

अमेरिकामा जो बाइडेन राष्ट्रपति भएको बेला क्यानडामा जस्टिन ट्रुडो प्रधानमन्त्री थिए । त्यसबेला चिनियाँ कारमा भन्सार लगाएपछि चीनले पनि क्यानडाका वस्तुमा ठूलो मात्रामा भन्सार लगाएको थियो । यही समयमा अमेरिकी निर्देशनमा क्यानडाले चीनकै ठूलो हुवावे कम्पनीकी कार्यकारी निर्देशक मेङ वाङझोउलाई पक्राउ गरेको थियो । त्यसबेला चीन र क्यानडाबीचको सम्बन्ध खराब भएको थियो ।

तर, अब अमेरिकासँगको सम्बन्ध तनावपूर्ण बनेसँगै उसको आक्रामकताबाट बच्न चीनको साथमा आइपुगेको छ । ट्रुडोको कार्यकालमा ट्रम्पले खुला रूपमा क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने धम्की दिएका थिए । उनीपछि प्रधानमन्त्री बनेका मार्क कार्नी अब कुनै पनि हालतमा अमेरिकी आक्रामकताबाट देशलाई बचाउन चाहन्छन् । ग्रीनल्यान्डको मुद्दा चर्किंदै गर्दा नेटोकै देशहरू अब सुरक्षाका लागि अमेरिकाइतरका शक्तिसँग निकट हुन थालेका छन् । पछिल्ला १० वर्षदेखि तनावपूर्ण सम्बन्ध रहेको क्यानडा र चीनबीच एकाएक देखिएको मित्रता यसैको परिणाम हो ।

चीन भ्रमणका क्रममा क्यानडाका प्रधानमन्त्री कार्नीले दुवै देश अब नयाँ विश्व व्यवस्थामा अघि बढ्नुपर्ने अभिव्यक्ति दिएका छन् । यो अभिव्यक्ति दिने कार्नीले नै गत वर्षको निर्वाचनअघि क्यानडाको सबैभन्दा ठूलो सुरक्षा चुनौती चीनबाट रहेको बताएका थिए । त्यसैले उनले यस्तो अभिव्यक्ति दिनुको सिधा अर्थ हुन्छ– अब अमेरिकी खेमामा रहेका देशहरू बिस्तारै टाढिँदै छन् र विश्व व्यवस्थामा नयाँ फेरबदल आउँदै छ ।

यो भनेको अमेरिका नेतृत्वको विश्व व्यवस्था भत्किँदै छ र यो खेमाका देशहरू चीन र रुस नेतृत्वको विश्व व्यवस्थातर्फ नजिक हुन खोजिरहेका छन् । जब कुनै देश चीनलाई सबैभन्दा ठूलो चुनौती ठान्दाठान्दै पनि उसैसँग मित्रताको हात बढाइरहेको छ भने यसबाट प्रस्ट हुन्छ कि अब उसका अघि त्योभन्दा ठूलो चुनौती खडा भएको छ र त्यो अमेरिकी चुनौती हो । ट्रम्पको आक्रामकता बढिरह्यो र क्यानडा तथा युरोपमाथि सुरक्षा चुनौती कायम रह्यो भने कुनै न कुनै दिन यी देश रुस र चीनको खेमामा उभिने सम्भावना बढ्दै गएको छ ।

-एजेन्सीको सहयोगमा

तपाईको बिचार